काठमाडौं । वायुसेवा सञ्चालकले हवाई इन्धन मूल्य महँगो भएको भन्दै ध्यानाकर्षण गराएका छन् ।
वायुसेवा सञ्चालकहरुले बुधबार नेपालमा हवाई इन्धनको मूल्य अत्यन्तै महंगो भएको र यसले व्ययभार बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सरकारले पछिल्लोपटक तोकेको राष्ट्रिय अन्तर्राष्ट्रिय उडान माथिको प्रतिबन्ध क्रमशः खुकुलो पार्ने संकेत गरेसँगै सञ्चालकहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
त्यस क्रममा नियमित व्यवसायिक उडान सुरु हुनुअगाडि व्यवसायी हवाई इन्धनको भाउ घटाउने लबिङमा लागेका छन् ।
वायुसेवा सञ्चालक संघले हवाई उद्योग सञ्चालनमा कुल खर्चको ३५-४० प्रतिशत हवाई इन्धनको हिस्सा हुने भन्दै मूल्य घटाएर राहत दिन माग गरेको हो ।
कोरोना भाइरसको महामारीका कारण संसारभर असर परेको भन्दै यसले नेपालमा समेत नकारात्मक प्रभाव पारेको संघका प्रवक्ता योगराज कंडेलले जानकारी दिए ।
भारतले हवाई इन्धनको मूल्य प्रतिलिटर २० भारतीय रुपैयाँमा झारेको छ । त्यस्तै चीनले पनि ५० प्रतिशत अनुदान दिएको भन्दै सञ्चालकहरुले नेपालमा इन्धनको भाउ घट्नुपर्ने तर्क राखेका छन् ।