मंसिर ०७, २०८१, शुक्रबार
               

देशको आर्थिक क्षेत्रका सूचक सकारात्मक छन्: अर्थमन्त्रीको पौडेल

नेपाल फ्ल्यास
माघ ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले देशको आर्थिक क्षेत्रका सूचकहरू सकारात्मक रहेको बताएका छन् । बुधबार कृषि विकास बैंक लिमिटेडको ५४ औँ वार्षिकोत्सवको अवसरमा मन्त्री पौडेलले सो कुरा बताएका हुन् । 

अर्थमन्त्री पौडेलले देशको आर्थिक क्षेत्रका सूचकहरू सकारात्मक रहेको बताउँदै कोभिड–१९ का कारण राजस्व परिचालनका केही सन्दर्भमा प्रतिकूलता रहेको बताए । उनले भने, ‘अन्य क्षेत्रमा आर्थिक सूचकहरू सकारात्मक छ कोभिड–१९ को बावजुद  देशको अर्थतन्त्रलाई गतिशील, चलायमान र उत्पादनशील बनाउन प्रयत्नरत भइरहेको छ ।’

मन्त्री पौडेलले नेपाल कोभिडविरुद्ध सही नीति, सही योजना र प्रभावकारी कार्यान्वयनका साथ अघि बढेको भन्दै छिटोभन्दा छिटो कोभिडविरुद्धकाे खाेप आयात गरेर आमनागरिकलाई निःशुल्क उपलब्ध गराउने बताए । पहिले अग्रपङ्क्तिमा खटिएकाबाट सुरु गरेर क्रमशः आमनागरिकमा पुर्‍याइने उनको भनाइ छ ।

मन्त्री पौडेलले मध्यावधि चुनाव गर्ने कुरा संविधानले प्रबन्ध गरेको व्यवस्था भएको भन्दै संविधानको कार्यान्वयनले देशलाई गतिशील ढङ्गले अघि बढाउन मदत गर्ने बताए । देशलाई संविधानले परिलक्षित गरेको दिशामा लैजानका लागि चुनावको अपरिहार्यता रहेको पनि उनको भनाइ छ । 

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपाल सरकारले डिजिटल फ्रेमवर्क लागू गरेको र वित्तीय क्षेत्रलाई यसले विशेष रूपले समेट्ने भएकाले बढीभन्दा बढी विद्युतीय कारोबार होस् भन्ने हिसाबले राष्ट्र बैंक अघि बढेको बताए । 

यसबाट सुशासन कायम हुने अपेक्षा गरिएको उहाँको भनाइ छ । कृषिमा आधुनिकीकरण गर्ने धेरै सम्भावना देशमा भएकाले कृषि विकास बैंकले अन्य क्षेत्रमा भन्दा विशेषगरी कृषि क्षेत्रमै लगानी गर्नुपर्ने उनको भनाइ छ । 

कृषि विकास बैंक लिमिटेडका अध्यक्ष लक्ष्मी प्रपन्न निरौलाले बैंकले आगामी दिनमा उच्च मूल्य प्राप्त हुने फलफुलमा कर्जा विस्तार गर्ने बताए । 

त्यसैगरी, गाई–भैँसी फार्ममा पनि लगानी विस्तार गर्ने योजना रहेको उहाँको भनाइ छ । बैंकले उत्पादन र उत्पादकत्व बढाउनेतर्फ काम गर्ने उनले बताए । 

यो पनि