मंसिर ०६, २०८१, बिहीबार
               

कोरोनाको औषधि खोज्दै गायक बमबहादुर कार्कीका दम्पती

नेपाल फ्ल्यास
जेठ २९, २०७७

ADVERTISEMENT

काठमाडौं । वरिष्ठ लोकगायक बमबहादुर कार्कीका दम्पतीले कोरोनाको औषधि खोज्दै छन् । उनीहरुले गीतमार्फत ‘के होला दवाई’ नामक गीत ल्याएका छन् । गायक कार्की र उनकी श्रीमती गायिका शिवा आलेको संयुक्त आवाजमा उक्त गीत बजारमा आएको छ ।

गीतमा गायक कार्कीकै शब्द रहनुका साथै उनकी श्रीमती गायिका आलेको संगीत रहेको छ । उक्त गीतको भिडियो गायक कार्कीकै युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको छ । सो भिडियोमा गायक गायीका दम्पती नै देखिएका छन् ।

चीनको वुहान प्रान्तबाट विश्वभर फैलिएको कोरोना अहिलेसम्म त्यसको औषधि पत्ता नलागेको अवस्थामा ‘के होला दवाई’ नामक गीत ल्याएको गायक कार्कीले जानकारी दिए । कोरोनाको प्रकोप पछिल्लो समय नेपालमा तीव्र गतिले बढिरहेको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर लगाएको लकडाउनका कारण सबै कलाकारहरु विगतमा जस्तो स्वदेश तथा विदेशका कार्यक्रममा जानबाट रोकिएका छन् ।

यस्तै समयमा भएपनि कतिपय कलाकारले भने शन्देशमूलक गीत ल्याएका छन् । २०३९ सालबाट गायन क्षेत्रमा प्रवेश गरेका वरिष्ठ गायक कार्कीले अहिलेसम्म ८२ वटा एल्बम बजारमा ल्याएको बताए ।

त्यसमध्ये ‘भेटै नहुने, खोला पारी निरमाया वारी मरुने’ गीत आफ्नो मात्रै पहिलो नभई नेपालकै पहिलो लोकदोहोरी क्यासेट भएको उनले बताए । गायक कार्कीको गीत ‘पानको पात’ त्यो बेलादेखि नै सर्वाधीक चर्चामा रहेको छ । आफूले गाएका गीतमध्ये स्वर्गीय जननेता मदन भण्डारीको सडक दुर्घटनामा निधन भएको घटनाबारे निकालिएको ‘दास ढुंगा’ क्यासेट सबैभन्दा बढी बजारमा बिक्री भएको कार्कीले जानकारी दिए ।

आफ्ना ८२ वटा एल्बमभित्र लोकगीत, लोकदोहोरी, लोकभजन, देउसीभैलो, तीज गीत लगायत विभिन्न जनचेतनामूलक गीत रहेको उनको भनाइ छ ।

गुल्मी जिल्लाको घमिर गाउँपालिका– ७ मा जन्मिएका वरिष्ठ गायक कार्की रेडियो नेपालको विभिन्न कार्यक्रममा २९ वर्ष आवद्ध, लण्डनबाट प्रशारित बीबीसी नेपाली सेवामा समाचार प्रशारकका रुपमासमेत आवद्ध भएका थिए । साथै, सरकारी सेवा निवृत्त निजामती उपसचिवमा पनि दश वर्ष कार्यरत भएको उनले जानकारी दिए ।  

 


कस्तो लाग्यो ?

यो पनि