बलिउड अभिनेत्री सोनम कपुर एउटा ट्वीटका कारण हाल ट्रोलको केन्द्र बनेकी छन् । सामाजिक सञ्जालमा उनको धेरैले आलोचना गरेका छन् । सोनमले आइतबार फादर्स डेको अवसरमा गरेको ट्वीटलाई लिएर ट्रोल भएकी हुन् । उनी आइतबार दिनभर सामाजिक सञ्जालमा चर्चामा रहिन् ।
उनले पितालाई समर्पित गर्दै ट्वीट गरेकी थिइन्, ‘आज फादर्स डे को अवसरमा म तपाईँहरुलाई भन्न चाहन्छु कि म मेरो पिताकी छोरी हुँ र आज उहाँकै कारण यो स्थानमा छु । मलाई प्रिभिजेज अर्थात विषेशाधिकार मिल्यो । यो कुनै अपमानको कुरा होइन । मलाई यो सबै दिनका लागि मेरो पिताले कडा मेहनत गर्नु भएको छ । यो मेरो कर्म हो कि कहाँ जन्मिए र कुन परिवारमा जन्मिए । मेरो पिताको छोरी हुनुमा मलाई वर्ग छ ।’
Today on Father’s Day id like to say one more thing, yes I’m my fathers daughter and yes I am here because of him and yes I’m privileged. That’s not an insult, my father has worked very hard to give me all of this. And it is my karma where I’m born and to whom I’m born. I’m proud
— Sonam K Ahuja (@sonamakapoor) June 21, 2020
हालै अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि बलिउडमा नेपोटिजम (आफन्तवाद) लाई लिएर तीव्र चर्चा भइरहेको छ । प्रहरीले सुशान्तले आत्महत्या गरेको बताएको छ । तर अधिकांशले आत्महत्या नै भए पनि बलिउडमा रहेको नेपोटिजमले उनलाई सो बाटो रोज्न बाध्य पारेको भन्दै हत्याका रुपमा छानविन गर्न माग गरेका छन् ।
सुशान्तको समर्थनमा रहेकाहरुले बलिउडमा स्थापित निर्माताहरुले स्थापित अभिनेता–अभिनेत्रीका छोराछोरीलाई काम दिने गरेकाले क्षमतावान कलाकारहरु छायामा परेको बताएका छन् ।
हालै अभिनेत्री सोनाक्षी सिन्हाले नकारात्मकताबाट पर रहन भन्दै आफ्नो ट्वीटर एकाउन्ट बन्द गरेकी थिइन् । उनले आफ्नो मानसिक स्वास्थ्यको ख्याल गरेर ट्वीटर एकाउन्ट बन्द गरेको जनाएकी छन् । सुशान्तको निधनपछि यहि विषयलाई लिएर निर्माता करण जौहर ट्रोल भएका थिए । त्यसपछि उनले ट्वीटरमा चलचित्र क्षेत्रसँग सम्बन्धित धेरै व्यक्तिलाई अनफलो गरेका छन् ।
अभिनेत्री कंगना रनौत र उर्मिला मातोंडकरले बलिउडमा नेपोटिजमका कारण सही क्षमता भएका र कडा मेहनत गर्नेहरुलाई मौका नदिने गरिएको बताएका छन् ।
गायक सोनू निगमले संगीत क्षेत्रको अवस्था पनि अति नाजुक रहेको र गुटबन्दीका कारण धेरै राम्रा कलाकारले मौका नपाएको बताएका थिए । उनले गुटबन्दी अन्त्य नभए आत्महत्यासहितका अरु धेरै दुःखद खबरहरु आउने बताएका थिए ।