हाँस्यकलाकार तथा कवि केशवराज अर्याल ‘केरा’ले ‘हाँडीघोप्टे’ नामक नयाँ गाईजात्रे कोसेली ल्याएका छन् । उनको यो दोश्रो गाईजात्रा एल्बम हो ।
मनोरञ्जन नेटवर्क युट्युब च्यानलमार्फत बजारमा आएको यस एल्बममा अर्यालले देशमा बढ्दै गरेको बेथिति, भ्रष्टाचारलाई व्यंग्यमार्फत् हँसाउँदै कसिलो प्रहार गरेका छन् ।
उनले एल्बममा गीत, क्यारिकेचर र विभिन्न वेषभूषामा भट्याउँदै, जनताको वेदना, आक्रोश र पीडालाई दबाउने ठूला भनाउँदा टाउकावाल र भुँडीवालहरुको उछितो काढेका छन् ।
सरकारको कमजोरीपन, भ्रष्टाचार, सरकारी जग्गा काण्ड, बलात्कार, देश लुट्ने प्रवृत्ति, अस्पताल, यातायात, उद्योगको लापरबाही, कोरोना महामारी सलह चलचित्र क्षेत्रको घमण्डीपन, कमजोरी र नग्नता र समाजमा खुट्टा तान्ने प्रवृत्ति आदिलाई ‘हाँडीघोप्टे’मार्फत उजागर गरेका छन् ।
व्यंग्य लेख, कार्टुन कला, कविता, स्टेज कार्यक्रम तथा विभिन्न कमेडी सिरियलमार्फत हँसाउँदै आएका उनका दुई व्यंग्य पुस्तक प्रकाशित भइसकेका छन् ।
यसअघि उनको ‘आलुपाँडे गाईजात्रा’ बजारमा आएको थियो ।