मंसिर ०७, २०८१, शुक्रबार
               

कथाकुथुङ्ग्री च्याम्पियन ‘रियालिटी शो’ को अडिसन खुल्ला

नेपाल फ्ल्यास
मंसिर २१, २०७७

ADVERTISEMENT

मौलिक कथामा जीवन्त अभिनय गर्ने नेपालकै पहिलो ‘रियालिटी शो’ कथाकुथुङ्ग्री च्याम्पियनको अडिसन आजदेखि सुरु भएको छ । सूचना चौतारी सञ्चार सहकारी संस्था लिमिटेडको आयोजनामा हुने ‘रियालिटी शो’ कथाकुथुङ्ग्री च्याम्पियनको आज एक कार्यक्रमका बीच औपचारिक घोषणा गरिएको हो । शोमा अनलाइन माध्यमबाट अडिसन लिएर सातै प्रदेशका सहभागीबीच प्रतिस्पर्धा गराइने छ ।कथाकुथुङ्ग्री च्याम्पियनमा भाग लिन अनलाइनमाध्यमबाट फारम भरी पठाउने व्यवस्था मिलाइएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कथाकुथुङ्ग्री च्याम्पियन ‘रियालिटि शो’ को राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेलले औपचारिकरुपमा घोषणा गरेकाे हो ।  देशका कुनाकाप्चामा लुकेर बसेका कला संस्कृतिलाई जगेर्ना गर्नका लागि कथाकुथुङ्ग्री च्याम्पियन कोशेढुङ्गा सावित हुने विश्वास उनले व्यक्त गरे । 

नाट्य निर्देशक विमल सुवेदीले अहिलेको अवस्थामा कथाकुथुङ्ग्री च्याम्पियन ‘रियालिटि शो’ समयको माग भएको बताउँदै यसलाई प्रभावकारी बनाउन सबै नाट्य समूहलगायत कलाप्रेमी एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । 

राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक राजेन्द्र पौडेलले नाट्य अभियानलाई सफल पार्न सम्पूर्ण सहकारी क्षेत्र लाग्नुपर्नेमा जोड दिए । सामाजिक अभियानकर्मी रिता परियारले सबै क्षेत्रका व्यक्तिका लागि एकै स्थानमा अटाउने मञ्च कथाकुथुङ्ग्री च्याम्पियन ‘रियालिटि शो’ भएको बताए । 

पछिल्लो समय विश्वभर कोभिड–१९ ले जनजीवनलाई प्रभावित पारेको विषम परिस्थितिलाई मध्यनजर गर्दै अभिनय कलामा रुची राख्ने व्यक्तिलाई कथा वाचनमार्फत् कला प्रस्तुत गर्ने मञ्च निर्माण गरिएको कार्यक्रम संयोजक चन्द्रप्रसाद पाण्डेले बताए । कथाकुथुङ्ग्री च्याम्पियनमा सहभागी हुनेलाई अनलाइन अभिमुखीकरण कार्यक्रम पनि सञ्चालन गर्ने तयारी रहेको उनले सुनाए । कोरोना कालमा बन्द रहेको रङ्गमञ्च, चलचित्र क्षेत्रका लागि वैकल्पिक मञ्चको रुपमा कथाकुथुङ्ग्री च्याम्पियन शो सुरु भएको जनाइएको छ । 

विभिन्न चरण पार गर्दै प्रतिस्पर्धाबाट छनोट हुने उत्कृष्ट सहभागीलाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको छ । प्रथम हुनेलाई दुई लाख, द्वितीयका लागि एक लाख ५० हजार र तृतीय हुनेलाई ५० हजार नगदसहित अन्य आकर्षक पुरस्कारको व्यवस्था मिलाइएको सहकारी संस्थाका अध्यक्ष विपिन शर्माले जानकारी दिए । 

कार्यक्रम सफल बनाउन विभिन्न नाट्य समूह, सहकारी सङ्घसंस्था, शैक्षिक सङ्घसंस्थाको सहकार्यमा सम्पन्न गर्ने तयारी रहेको शर्माले बताए । अनलाइन अडिसनबाट पहिलो चरणको प्रतिस्पर्धा सुरु हने  नेपालकै पहिलो ‘रियालिटी शो’ कथाकुथुङ्ग्री च्याम्पियनमा निर्णायक मण्डलमा वरिष्ठ कलाकार लक्ष्मी गिरी, रङ्गकर्मीद्वय आरके मेहता र सरिता साह छन् । 

विविध जाति, भाषाभाषी र संस्कृतिले सम्पन्न मुलुकमा कथाको कुनै कमी नभएकाले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, हिमालदेखि तराईसम्म, रोजगारीको लागि घरदेश छोडेर परदेश गएकाहरुसम्म सबैले प्रतियोगितामा भाग लिन पाउने कथाकुथुङ्ग्री च्याम्पियनका परिकल्पनाकार प्रकाश थापाले बताए । 

ओझेलमा परेका, छेकिएका, नदेखिएका सातै प्रदेशका कथा र प्रतिभालाई प्रकाशमा ल्याउन चाहेको र मुलुकको सामाजिक, सांस्कृतिक, भौगोलिक मौलिकताको परिचय स्थापित गर्ने अभियानको नाम कथाकुथुङ्ग्री च्याम्पियन भएको उनले बताए । 


कस्तो लाग्यो ?

यो पनि