काठमाडौँ । फिल्म ‘घिन्ताङ’को छायांकन सुरु भएको छ । २० दिनको नियमित सेड्युल सहित फिल्मले काभ्रेको पनौतीबाट छायांकन सुरु गरेको हो । निर्माता निर्देशक दीपक श्रेष्ठले फिल्म छायांकनका लागि अहिले उपयुक्त समय पाएकोले सुटिङ सुरु गरेको बताए ।
फिल्मको छायांकन दसैँ अगाडि सकाउने आफ्नो लक्ष्य रहेको उनले सुनाए । केकी अधिकारी, गौरव पहाडी, नीर शाह, मदनकृष्ण श्रेष्ठ, रमेश अधिकारी, संगम भण्डारी र दीपाश्री निरौलाको मुख्य भुमिका फिल्ममा रहनेछ ।
राजु लामाको प्रस्तुति रहेको फिल्ममा दीपक शर्माको संगीत र संकल्प भुजेलको छायांकन रहन्छ । ६० लाखको लागत निर्माण अनुमान गरिएको फिल्म गत वैशाखमै सुरु गर्ने योजना निर्देशक श्रेष्ठको थियो । तर कोरोनाको कारण उनको योजना पूरा हुन सकेन ।
दीपकले ९ वर्षपछि यसै फिल्ममार्फत निर्देशनमा कम ब्याक गरेका हुन् । त्यसैले पनि उनी ‘धिन्ताङ’ आफ्नो महत्वाकांक्षी फिल्म भएको बताउँदै आएका छन् ।