भारतले कोरोना संक्रमण बढ्दै गएपछि सिङ्गो मुलुक लकडाउन गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीका नाममा सम्बोधन गर्दै तीन साताका लागि देशभर लकडाउनको घोषणा गरेका हुन् ।
भारतले गरेको लकडाउन भारतीय समयअनुसार आज मङ्गलवार राति १२ बजेदेखि लागु हुनेछ ।
मोदीले अहिलेलाई धैर्य र संयमको अभ्यास गर्ने समय भएको बताएका छन् । उनले जीवन भए मात्र संसार रहने भावपूर्ण सम्बोधन गरेका छन् । उनले घरबाट बाहिर ननिस्कन तथा जे भए पनि घरमै बस्न देशवासीलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री मोदीले लकडाउनबाट मुलुकले आर्थिक क्षति व्यहोर्नु पर्ने बताएका छन् । तर पनि हरेक भारतीयको जीवन बचाउनु आफ्नो तथा भारत सरकार, राज्य सरकार एवं हरेक स्थानीय निकायको पहिलो दायित्व भएको उनले उल्लेख गरेका छन् ।
मोदीले आउँदै गरेको २१ दिन ज्यादै महत्त्वपूर्ण भएको जनाएका छन् । स्वास्थ्य विज्ञहरूका अनुसार कम्तीमा २१ दिनको समय कोरोना भाइरस संक्रमण चक्रलाई तोड्न अत्यन्त महत्त्वपूर्ण हुने विश्वास उनले व्यक्त गरेका छन् ।
उनले यसअघि जनता कर्फ्युको सफलताका लागि सिङ्गो मुलुकवासीलाई धन्यवादसमेत दिएका छन् ।