मंसिर ०७, २०८१, शुक्रबार
               

भारतबाट नेपाल आएका ८२८ क्वारेन्टिनमा

नेपाल फ्ल्यास
जेठ १७, २०७७

ADVERTISEMENT

काठमाडौं । भारतबाट आएका आठ सय २८ जनालाई क्वारेन्टिनमा राखिएको छ । 

बागलुङमा भारतका विभिन्न ठाउँबाट लुकीछिपी जिल्लामा फर्किएका उनीहरुलाई क्वारेन्टिनमा राखिएको हो । 

गत साता भारतबाट जिल्ला भित्रिएका आठ सय २८लाई ८० वटा क्वारेन्टिनमा राखिएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । 

कार्यालयका अनुसार बागलुङको बडिगाड गाउँपालिकाकास्थित क्वारेन्टिनमा सबैभन्दा बढी दुई सय ५९ व्यक्तिलाई राखिएको छ । 

सबैभन्दा कम १४ जना तमानखोला गाउँपालिकास्थित क्वारेन्टिनमा राखिएको छ । 

त्यसैगरी, ढोरपाटन नगरपालिकाको क्वारेन्टिनमा एक सय ७३, निसीखोला गाउँपालिकाको क्वारेन्टिनमा एक सय ४४, बागलुङ नगरपालिकाको क्वारेन्टिनमा ४३, काठेखोला गाउँपालिकाको क्वारेन्टिनमा ३८, बरेङ गाउँपालिकाको क्वारेन्टिनमा ३८, ताराखोला गाउँपालिकाको क्वारेन्टिनमा ४२, जैमिनी नगरपालिकाको क्वारेन्टिनमा २४ र गलकोट नगरपालिकाको क्वारेन्टिनमा ५५ जना छन् ।

गत बुधबार क्वारेन्टिनमै रहेका तमानखोलाका चार र बडिगाडका दुईजनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । 
सङ्क्रमित धवलागिरि अस्पतालको आइसोलेसनकक्षमा उपचाररत छन् । 

उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । क्वारेन्टिनमा बसेको पाँच दिन पुगेपछि थप व्यक्तिको कारोना जाँचका लागि स्वाब सङ्कलन गरिएको छ । 

बडिगाडका ३१ जनाको स्वाब पोखरास्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएकामा रिपोर्ट आउन बाँकी छ ।

निसीखोलाका ३८, जैमिनीका ६ र बागलुङ नगरपालिकाका पाँचजनाको स्वाब जाँचका लागि पठाउने तयारी भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले बताए । 

तमानखोला र बडिगाडका सङ्क्रमितको ‘कन्ट्रयाक्ट ट्रेसिङ’ गर्ने कामसमेत सुरु भएको उनको भनाइ छ । 

‘क्वारेन्टिन व्यवस्थापन र पिसिआर परीक्षणमै बढी केन्द्रित छौँ,’ प्रमुख गुरौले भने, ‘भारतबाट आउने क्रम बढेसँगै सङ्क्रमण बढ्ने जोखिम छ ।’ 

बडिगाड गाउँपालिकामा मात्र पाँच सय जनाभन्दा बढी भारतबाट आउने आँकलन गरिएको छ । 

तेस्रो मुलुकमा रहेका नागरिक पनि आउन थाले त्यो संख्या झनै बढ्नेछ । 

स्थानीय तहका लागि क्वारेन्टिन विस्तारसँगै गुणस्तर कायम राख्न चुनौतीपूर्ण बनेको छ ।

बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले सङ्क्रमितको सङ्ख्या अझै बढ्न सक्ने बताए । 

बडिगाडका क्वारेन्टिनमा रहेकामध्ये जम्मा आठजनामा गरिएको जाँचमा दुईजना सङ्क्रमित भेटिएका थिए ।

‘भारतबाट आउनेको सङ्ख्या दैनिक बढेको छ, बडिगाड कोरोनाको उच्च जोखिममा छ,’ अध्यक्ष पाइजाले भने । 
५६ दिनपछि बुुधबार सो जिल्लामा ६ नयाँ सङ्क्रमित फेला परेका हुन् । 

त्यसअघि गत चैत १५ र २० गते भेटिएका दुई सङ्क्रमित उपचारपछि निको भई घर फर्किसकेका छन् । उनीहरु दुवैजना चैत ४ मा बेल्जियमबाट आएका थिए ।

यो पनि