मंसिर ०७, २०८१, शुक्रबार
               

अमेरिकाका दर्जनौं सहरमा प्रदर्शनहरू हिंसात्मक भएसँगै निषेधाज्ञा घोषणा

नेपाल फ्ल्यास
जेठ १८, २०७७

ADVERTISEMENT

संयुक्तराज्य अमेरिकाका प्रमुख सहरहरूमा प्रहरी दमनको बिरोधमा शनिबार विरोध प्रदर्शन तिब्र भएसँगै निषेधाज्ञा (कफ्र्यू) लगाइएको छ। प्रदर्शनकारीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीलाई पनि बेवास्ता गरी सडकमा उत्रिएका थिए ।

अशान्तिको केन्द्रबिन्दु बनेको मिनियापोलिसमा लगातार पाँचौं दिन हिंसा फैलिएको छ । भीड नियन्त्रण गर्न खटाइएका दङ्गा प्रहरीले अश्रुग्यास र हवाई फायर गरेका थिए । गत सोमबार एक निहत्था अश्वेत व्यक्तिमाथि गोरा प्रहरीले अमानवीय ढङ्गबाट हत्या गरेको भन्दै हिंसा भड्किएको हो । 

लस एन्जलस, शिकागो र एटलान्टा समेतका दुई दर्जन शहरमा मानिसहरूलाई स्थानीय प्रशासनले निषेधाज्ञा घोषणा गरी रातभरि घरमै बस्न आदेश दिएको थियो । यहाँ नेसनल गार्डका सैनिकलाई पनि तैनाथ गरिएको थियो जुन अमेरिकी इतिहासमा बिरलै देख्न सकिने घटना हो । 

सियाटलदेखि न्यूयोर्कसम्म दशौं हजार प्रदर्शनकारी सडकमा उत्रिएका थिए । उनीहरुको एकमात्र माग थियो, अश्वेत युवा जर्ज फ्लोएडका हत्या आरोपी प्रहरीलाई कडाभन्दा कडा सजाय होस् र घटनामा संलग्न अरु प्रहरीलाई पनि गिरफ्तार गरियोस् । 

मिनियापोलिसका पुलिस अधिकृत डेरेक चौभिनले जर्ज फ्लोएडलाई ८ मिनेटसम्म घाँटीमा घुँडाले थिचेको हृदयबिदारक दृश्य सार्वजनिक भएपछि हिंसा भड्किएको हो । सास फेर्न छाडेपछि पनि चौभिनले झण्डै ३ मिनेटसम्म फ्लोएडको घाँटी थिचेको आरोप छ ।

लस एन्जलसमा उग्र प्रदर्शनकारीले प्रहरीको गाडीमा आगो लगाएपछि प्रहरीले उनीहरुलाई तितरबितर गर्न रबरको गोली र लाठीचार्ज गरेका थिए ।  शिकागो र न्यूयोर्क लगायतका धेरैवटा शहरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएका थिए । फिलाडेल्फियामा प्रदर्शनकारीले पसलका झ्यालहरुमा ढुंगामुडा गरेर तोडफोड गरेका थिए । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिनियापोलिसमा भएका लुटपाट र आगजनीका लागि अति दक्षिणपन्थी समूह सक्रिय रहेको आरोप लगाए । प्रदर्शनकारीहरुले फ्लोयडको स्मृतिलाई पनि अनादर गरेको ट्रम्पले बताए । 

राष्ट्रपतिले भने, “हामीले एउटा अराजक सानो समूहलाई हाम्रा शहरहरू तोडफोड गर्ने छुट दिनु हुँदैन । मेरो प्रशासनले भीडको हिंसा रोक्नेछ । र हामीले यसलाई निर्मम ढंगबाट रोक्नुको विकल्प छैन ।” 


कस्तो लाग्यो ?

यो पनि