सिड्नी – कोरोना महामारीका कारण अस्ट्रेलियामा अड्किएका बाँकी यात्रुहरूका लागि आगामी जुलाई ३०( साउन १५) मा सिड्नीबाट काठमाडौँ चार्टर्ड उडान हुने भएको छ ।
मालिन्डो एयरलाइन्समार्फत् हुने उक्त चार्टर्ड उडानमा एक सय ६० सिटक्षमता रहेको छ जसमध्ये एक सय ४८ जना ‘इकोनोमी’ तथा १२ वटा ‘बिजनेस’ क्लास सिट रहेको एनआरएनए अस्ट्रेलियाले जनाएको छ ।
उक्त एयरलाइसन्को इकोनोमीतर्फ एक हजार एक सय २० अमेरिकी डलर तथा बिजनेस क्लासतर्फ एक हजार छ सय अमेरिकी डलर भाडा तोकिएको छ ।
यसअघि नेपाल फर्कनका लागि करिब तीन सय ५० जनाको आवेदन दिएर टिकटको शुल्क बुझाइसकेका छन्। तीमध्ये पहिला पैसा बुझाउनेलाई र अत्यन्त जरूरी अनि सहानुभूतिपूर्ण अवस्थाका आधारमा यात्रुको छनोट गरिने पनि एनआरएनए अस्ट्रेलियाले जनाएको छ ।
गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको संयोजन, नेपाली राजदूतावास क्यानबेराको पहल, ‘एएनएमडिए’ लगायत विभिन्न सामुदायिक संघ, संस्थको सहकार्यमा गठन गरिएको ‘रिपाट्रिएसन टास्क फोर्स’ले उक्त चार्टर्ड उडान तय गरेको हो ।
मेलबर्नमा कोरोना भाइरसले गर्दा उत्पन्न कठिनाइलाई मध्यनजर गर्दै थप एउटा चार्टर्ड उडान गर्ने प्रयत्न गरिएको उल्लेख गर्दै एनआरएनए अस्ट्रेलियाले त्यसो गर्न नसकिएमा यात्रुको सबै पैसा फिर्ता दिने पनि उल्लेख गरेको छ ।
गत जुलाई १४ तारिखमा अस्ट्रेलियाबाट एक सय ४९ जना यात्रुहरू नेपाल फर्किसकेका छन् भने करिब एक हजार तीन सयले नेपाल फर्कने इच्छा व्यक्त गर्दै दूतावासमा आफ्ना नाम टिपाएका थिए ।
नेपाल फर्कने यात्रुहरुले अनिवार्य रूपमा पिसिआर परीक्षण गराउनुपर्नेछ भने पिसिआर परीक्षणको नतिजा केवल सात दिनका लागि मात्र मान्य हुनेछ ।
पिसिआर परीक्षणको संयोजक ‘एएनएमडिए’ अर्थात् अस्ट्रेलियन नेप्लिज मेडिकल एण्ड डेन्टिस्ट एसोसिएसनले गरिरहेको छ। नेपाल फर्कने यात्रुहरू अनिवार्य रूपमा नेपालमा गएर पाँच दिन होल्डिङ सेल्टरमा बस्नुपर्नेछ ।