कर्मचारीको तलब शतप्रतिशत बढाउन सिरियाका राष्ट्रपति बसर अल असदले निर्देशन दिएका छन् । इन्धनको मूल्य सरकारले उच्च अङ्कले बढाएपछि मासिक पारिश्रमिक पनि बढाउन राष्ट्रपतिले निर्देशन दिएका हुन् ।
सिरियाको अर्थतन्त्र सन् २०११ मा युद्ध सुरु भएयता निकै सङ्कटमा छ । त्यहाँ अहिले सरकारी कर्मचारीको मासिक तलब १० देखि २५ अमेरिकी डलरको बीचमा रहेको छ ।
मङ्गलवार मध्यरात सिरियाली आन्तरिक व्यापार तथा उपभोक्ता संरक्षण मन्त्रालयले ढुवानी र बेकरीका लागि डिजेल इन्धनको मूल्यमा एक सय ८० प्रतिशत र पेट्रोलमा झण्डै एक सय ६५ प्रतिशतले वृद्धि गरेको थियो । इन्धनको मूल्यवृद्धिपछि खाद्यान्नको भाउ बढेको चिनियाँ समाचार संस्था सिन्ह्वामा उल्लेख छ ।