विश्व कोभिड-१९ सँग जुधिरहेको छ । तर यतिबेला मेरो देशको सरकार र यसका नेताहरू आपसमा जुधिरहेका छन् । कुस्तीमा लागेका छन् । कोही छिर्के दाउ हान्दैछन् । शासनमा रहेकाहरू दुशासनको प्रवृतिमा छन् भने वरिपरिकाहरू कपटी सकुनी बन्दै छन् ।
देशमा कोरोना संक्रमणले जरो गाडिसकेको छ । विदेशमा रहेका नेपालीहरू छटपटाइरहेका छन् । तर उनीहरूलाई सत्ताको मात छ । आफ्नालाई चिन्न सकेका छैनन् । कुशल शासक भए सबै नागरिक आफ्ना हुने थिए । तर परिवारको नाताबाट उनीहरू माथि उठ्न सकेका छैनन् । शक्तिको नाताभन्दा ठुलो उनीहरूलाई केही भएको छैन ।
२०४६ को प्रजातान्त्रिक र त्यसपछि २०६२/६३ को गणतान्त्रिक आन्दोलनमा यी सब अकल्पनीय गतिविधिका लागि जनताले साथ दिएका थिएनन् । यो दुरासय र दुरावस्था कसैले परिकल्पना गरेको थिएन । यस खालको राजनीतिक संक्रमण लम्बिरहे प्राप्त उपलब्धिहरू गुम् नसक्ने खतरा भएकोले समयमै यो स्थितिको निरन्तरता भङ्ग हुनुपर्छ । र, अबको बाटो भनेको सम्पूर्ण राष्ट्रिय शक्ति एक हुनुपर्छ । विदेशीसँग शीर झुकाएर मिल्नुभन्दा राष्ट्रिय शक्तिसँगको हातेमालो उत्तम हुनेछ ।
एकातिर सरकार असफल बन्दै गएको छ । उसको दम्भले शक्ति र अधिकार दुरुपयोग गरिरहेको छ । अर्कोतर्फ सरकारमा रहेका पार्टीका र केही बाहिरका पनि ५ वर्ष पुर्याउन नदिने प्रपञ्चमा जुँगामा ताउ लगाई बसेका छन् । ५ वर्षको म्यान्डेट पाएको सरकारका प्रधानमन्त्री कुर्सी जोगाउन र सरकारमै रहेको दलको अर्को समूह कुर्सी खोस्न गरेको कर्तुत छरपस्ट भैसकेको छ । जब कि यतिबेला कोरोना संक्रमणबाट जोगिन र जोगाउन, लकडाउनको अवस्था र यसले अर्थतन्त्रमा ल्याउने सङ्कट, विदेशमा रहेका संकटग्रस्त आफ्ना नागरिकलाई यथाशीघ्र नेपाल ल्याउने जस्ता विषयवस्तुमा केन्द्रित रहनुपर्थ्यो । दुर्भाग्य भन्नुपर्छ, जहिले सरकार बन्छ त्यसको भोलिपल्टदेखिनै सत्तापक्ष कसरी सरकार टिकाउने भन्नेमा उद्धत रहने र प्रतिपक्ष कसरी सरकार भत्काउने भन्नेमा । अझ हाम्रो सन्दर्भमा त सत्तापक्षबाटै सरकार ढाल्ने खेल सुरु हुन्छ । यो पुरानै रोग हो ।
के यही अवस्थाको लागि व्यवस्था परिवर्तन गरिएको हो ? १७ हजारभन्दा नेपालीको आहुति यसैका लागि थियो ? परिवर्तनका नाममा राष्ट्रिय शक्ति राष्ट्रिय एकताको प्रतीक राजसंस्था पाखा लगाउने काम गरियो । राजा सामन्ती हुन भनेर कुप्रचार गरियो । राजा विकास र परिवर्तनका बाधक हुन भनेर भ्रम फैलाइयो ।
राजसंस्था रहेसम्म नेपाललाई आफ्नो इसारा अनुसार चलाउन नपाइने तर परिवर्तनका संवाहक भनिएका नेताहरूलाई लगानी गरेर सत्तामा पुर्याएर तीनै मार्फत सम्झौता, सन्धि गर्दै नेपालका स्रोतसाधन कब्जा गर्ने दाउ बुझ्न नसकिने होइन । यही दाउमा लागि पर्यो बाह्य शक्ति, सफल पनि हुँदै आयो । दिनानुदिन राष्ट्र कमजोर हुँदै गयो । यो क्रम जारी । चाहे त्यो २०४६ को आन्दोलन होस् वा २०६२/६३ को वा त्यसबीचको कालखण्ड २०५२ मा नेपाल बर्बाद बनाउने मिसन जनयुद्धको नाममा बीजारोपण गरिएको घटना नै किन नहोस् । विभिन्न कालखण्डमा मिसन कहाँबाट कसको षडयन्त्रमा भएको थियो भन्ने पनि जगजाहेर नै छ । साधन, स्रोत, गाइडेन्स सबै बाहिरबाट उपलब्ध तर मैदानमा भित्रबाट आन्दोलनको नेतृत्वको रूपमा नेपालीलाई सतहमा प्रकट गराइयो । जसरी २०४६ ताका नेपाली कांग्रेस र तत्कालीन कम्युनिस्ट नेताहरूलाई प्रकट गराइएको थियो । आफ्नो घर भत्काएर व्यक्तिगत र गुटगत फाइदाको लागि पराईको घरमा जोडिने बुख्याचाहरूलाई विदेशीले सजिलै प्रयोग गरिरहे अहिलेसम्म । यता देशमा प्रधानमन्त्री, मन्त्री वा अन्य उच्च ओहदामा यिनीहरू पालैपालो बन्दै गए तर कामकारबाही र निर्णय बाहिरकै इसारा अनुसार हुँदै गए । परिणाम त्यही निरन्तरता कायम रह्यो जुन कोसी सम्झौतादेखि लिएर महाकाली सन्धिसम्मका राष्ट्रघाती कदमहरू जस्तै ।
ती सबै कालखण्डमा केही उपलब्धि भए तर निकै धेरै विकृति र विनाश भए । उपलब्धिमा प्रजातन्त्र हुँदै गणतन्त्र यसमा दुबिधा भएन (समय क्रमसँगै हुने सामान्य विकासलाई छोडेर) । तर विकृति र विनाश अनगिन्ती । विश्वमा कायम रहेको हिन्दु राष्ट्रको पहिचान गुमाइयो । जातीय विभेद बढाइयो । सामाजिक सद्भाव खलबल्याइयो । न्यायालयमा समेत हस्तक्षेप भयो ।
लोकतन्त्रहुँदै गणतन्त्रसम्म पुग्दा आम नेपालीले असुरक्षा, अव्यवस्था र सम्भावित दुर्घटनाबाट त्रसित रहेको देखिएको छ । स्थिर सरकार भए केही गर्लान् भनेर निर्वाचनमा चर्को बहुमत दिएर ५ वर्षका लागि संसद् हुँदै सिंहदरबार पठाए । तर सरकारका कामकारबाही, गतिविधि र नियत देखेपछि नेपाली जनतामा वितृष्णा र निराशा देखिएको छ । गणतन्त्रको १४ बर्से यात्रामा ११ पटक ड्राइभर (प्रधानमन्त्री) फेरिए तर शान्ति, संमृद्धि र सुशासनको गन्तव्यमा कसैले पुर्याएनन् । तर ड्राइभर अझै फेर्ने फेरिने खेल हावी छ । यस खालको स्थिर अस्थिरता कहिलेसम्म हेरेर बस्ने ?
आज ठुला राजनीतिक दलहरू सीमित व्यक्तिहरूको बिर्ता बनेका छन् । त्यो भन्दा खतरनाक त संवैधानिक अङ्गहरू ती दलका पेवा बनेका छन । २०४६ को प्रजातान्त्रिक र त्यसपछि २०६२/६३ को गणतान्त्रिक आन्दोलनमा यी सब अकल्पनीय गतिविधिका लागि जनताले साथ दिएका थिएनन् । यो दुरासय र दुरावस्था कसैले परिकल्पना गरेको थिएन । यस खालको राजनीतिक संक्रमण लम्बिरहे प्राप्त उपलब्धिहरू गुम् नसक्ने खतरा भएकोले समयमै यो स्थितिको निरन्तरता भङ्ग हुनुपर्छ । र, अबको बाटो भनेको सम्पूर्ण राष्ट्रिय शक्ति एक हुनुपर्छ । विदेशीसँग शीर झुकाएर मिल्नुभन्दा राष्ट्रिय शक्तिसँगको हातेमालो उत्तम हुनेछ । राजा एउटा दलको हुँदैन । संवैधानिक राजा राष्ट्रिय एकताको प्रतीकको रूपमा अधिकांश नेपालीलाई स्वीकार्य छ । त्यसैले निषेध र पूर्वाग्रहको चक्रबाट मुक्त भएर पुनः राष्ट्रिय एकताको मूलधारमा जोडिएर आफू, आफू आबद्ध रहेको दल र समग्रमा सम्पूर्ण नेपाली सशक्त बनौँ ।