अहिले विश्व नै कोरोना भाइरसको महामारिसँग जुधिरहेको छ । सकेसम्म चाँडै विज्ञानले चमत्कार गर्न सकेन भने मानव जातिको अस्तित्व नै सङ्कटमा पर्ने खतरा समेत देखिएको छ । यही त्रासका कारण अनेकौँ विवादलाई थाँती राख्दै सारा विश्व यो रोगविरुद्ध एकजुट भएका छन् ।
कुनै अचम्म भएन भने कोरोनाले छिट्टै नेपालको ७७ जिल्लालाई नै सङ्क्रमित पार्ने छ । कोभिड १९ सँग लड्न सरकारको मनोबल दरिलो हुनै पर्छ । तर, दिगो योजनाको कमी र अनगिन्ती गल्तीका कारण सरकार आलोचित मात्र भइरहेको छ । बस्, हामीले गर्न सक्ने भनेको कि सामाजिक सञ्जालमार्फत कि त चोकमा चियाको चुस्की लगाउँदै सरकारलाई सराप्न मात्रै हो । हामीले बुझेको नागरिक दायित्व पनि यही नै त हो ।
कोरोना भाइरसले सारा समाजलाई थिलथिलो बनाउँदा पनि सरकार काण्डमाथि काण्ड रचिरहेकै छ । सत्ताका स्वाद चाख्नेहरूलाई थाहा छ, जनताको झोँक पटके वर्षा झैँ हुन्छ । अहिले सरकारले रचेका काण्डहरू पनि समयान्तरसँगै हराउँदै जाने छन् ।
यस्तो पनि हुन्छ, गणतन्त्र ? अनि हामीले संसार कै सर्वोत्कृष्ट मानेर स्थापित शासन व्यवस्थाका सञ्चालक मुलुक हाँक्न लायक देखिएका छैनन् । तितो सत्य यही हो । यो व्यवस्था यस्तै गलत तरिकाले अगाडि बढ्ने हो भने भोलि यही व्यवस्थाविरुद्ध आवाज नउठ्ला भन्न सकिँदैन । अनि आवाज उठ्न सक्छ, हामीलाई के काम अनियमितताका आहालमा डुबेको यो गणतन्त्र ?
पछिल्ला ६ महिनाको अवधिलाई नियाल्ने हो भने पनि अनियमितताका धेरै काण्डहरू रचिएका छन् । जसमा, सेक्युरिटी प्रिन्टिङ प्रेस काण्ड, लिम्पियाधुरामा भारतबाट सडक निर्माण हुँदा सरकारको बेवास्ता, सांसद अपहरण काण्ड, स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता, कोरोना महामारीका बेला विदेशबाट नेपाल फर्केकालाई बेवास्ता गरिएको काण्ड आदी छन् ।
हरेक मुलुकको शासन सञ्चालनमा अवश्य कमी कमजोरी हुन्छन् नै । त्यो कमजोरीबाट सिक्ने हे भने मुलुकको सबै क्षेत्रमा सकारात्मक परिवर्तन आउन सक्छ । तर, हामी भने गल्तीमाथि गल्ती दोहोराइ रहेका छौँ ।
राजतन्त्र निरङ्कुश हुन्छ भनेर एउटा इतिहासलाई हामीले सदाका लागि बिदा गर्यौँ । तर, गणतन्त्रमा समेत निरङ्कुशताको कालो बादल मडारिन थालिसक्दा पनि हामी बोल्न सक्दैनौँ । गणतन्त्रमा वाक स्वतन्त्रताको चरम उपभोग गर्न पाइएको छैन । बरु बोल्दा सरकारी फन्दामा पर्ने क्रम बढ्दो छ । खोरमा थुनिनु पर्ने त्रास बढ्दो छ ।
यस्तो पनि हुन्छ, गणतन्त्र ? अनि हामीले संसार कै सर्वोत्कृष्ट मानेर स्थापित शासन व्यवस्थाका सञ्चालक मुलुक हाँक्न लायक देखिएका छैनन् । तितो सत्य यही हो । यो व्यवस्था यस्तै गलत तरिकाले अगाडि बढ्ने हो भने भोलि यही व्यवस्थाविरुद्ध आवाज नउठ्ला भन्न सकिँदैन । आवाज उठ्न सक्छ, हामीलाई के काम अनियमितताका आहालमा डुबेको यो गणतन्त्र ?
सरकारको गल्ती औँल्याउँदा, जनताले औँला उठाएर बोलिएको आवाजलाई सुन्नुको सट्टा त्यो आवाजलाई नै दबाउनु कदापि उचित होइन । तर, यो व्यवस्थाको गठनपछि प्रचण्ड बहुमतसहित गठित पहिलो सरकारले गणतन्त्रको मजाक उडाउने काम गरेको छ । तर, दोस्रो पटक चुनिएको संविधान सभामार्फत हजारौँ सहिदको लासको जगमा लेखिएको संविधानको धारा १७ ले सुनिश्चित गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रताको हक समेत वञ्चित गरिँदै आइएको छ । तर हामी फेरि पनि मौन नै छौँ ।
राजनीतिज्ञ मात्र होइनन् अदालत, प्रहरी, निजामती सेवा, सेना यस्तो कुनै एउटै निकाय छैन जुन क्षेत्र भ्रष्टाचारको आहालमा नडुबेको होस् । सबैलाई थाहा छ, मुलुक र जनता खुल्लम खुल्ला लुटिन तयार छन् । अख्तियार अनुसन्धान आयोगलाई भ्रष्टाचार ढाकछोप गर्ने सिँढी बनाउनै सकिएको छ । दुखको कुरो यो पनि छ ।
महामारीमा समेत हाम्रो गरिब मुलुकको सरकारले करोडौँ हिनामिना गरेको तथ्य बाहिरिँदा समेत हामी चुप छौँ । कलमहरू त्यसको विरोधमा चल्छन्, विरोध हुन्छन् तर सबै विरोध फेरी दुई दिन मै सेलाउँछ । अनि कलमले लेख्न छोड्छ, विरोध बन्द हुन्छ, सरकार नै ढालौँला जसरी कड्किने विपक्षीहरू पनि चुपचाप बस्छन् । अनि तै चुप, मै चुप । फेरी सुरु हुन्छ अर्को अनियमितताका कहानी ।
जनता त भोटका लागि मात्र प्रयोग हुन्छन् । चुनाव ताका हाम्रो उपयोग हुन्छ अनि लगत्तै उपयोगिता पनि सकिन्छ । विभिन्न कालखण्डले समेत जनता ठगिएका अनेकौँ कथा बताउँछ नै । कहिले सम्म सहने ? परिवर्तन र सुधार आउने आसमा कतिको जीवन मै पूर्णविराम पनि लागेका छन् ।
एक दशकभन्दा केही अगाडि हामीले देखेको नयाँ नेपालको सपनालाई साकार गर्न अब ढिलो भइसकेको छ । अब जनताले चुप लागेर बस्ने दिन पनि गइसकेका छन् । नत्र यो व्यवस्थाको विकल्पमा सक्रिय हुनेहरूले खेल्ने मौका पाउने छन् ।
सिंगापुर, मलेसिया, थाइल्यान्ड जस्ता मुलुक केही दशकभित्रै विश्वकै सम्पन्न राष्ट्रहरूमा परिणत भए । तर, २००७ सालदेखि आजसम्म आउँदा समेत हाम्रो अर्थतन्त्र कछुवाभन्दा छिटो गतिमा अगाडि बढ्न सकेको छैन । पृथ्वी नारायण शाह, अमर सिंह थापा, भक्ति थापा जस्ता बहादुरको गाथा त गाउँछौँ तर, उनीहरूले दिएको बलिदानलाई इतिहासबाट कसरी मेटाउने भन्ने कसरत पनि गर्छौँ । यस्तै नै छ यहाँको विडम्बना । शक्तिमा रहनेहरू सधैँ पुजिन्छन्, शक्तिबाट गायब भएपछि सबैले नाम लिन पनि हिचकिचाउँछन् ।
जबसम्म आफू बाहेक दोस्रो व्यक्तिको योगदानको कदर गर्न हामी कन्जुस्याइँ गर्छौँ तबसम्म यो देशले उपलब्धि हात पार्न सक्दैन । हामीले आफ्ना पुरातन सोचमा समेत परिवर्तन ल्याउन जरुरी छ । त्यसका लागि सबैभन्दा पहिले त हामी आफै सक्षम र सबल बन्न जरुरी छ । सरकारले गर्नु पर्ने तर गर्न नसकेका वा नगरेको कामलाई प्रभावकारी बनाउन जनसमुदायबाट के गर्न सकिन्छ भनेर काम गर्ने बेला पनि आइसकेको छ । त्यसको अर्थ हरेक विरोधको समाधान सडकबाट मात्र सम्भव छ भन्ने पनि होइन ।
हामीले सोच्नै पर्छ समाजमा सार्थक परिवर्तन सजिलै आउँदैन । तर, सरकारको हरेक कार्यलाई जनताले चीलको दृष्टिले हेर्नुपर्ने र बेला बेलामा घचघच्याइ रहनु पर्ने दिन आइसकेको छ ।
यस्तो सोचका साथ जनता नै अगाडि आउने हो भने, भ्रष्टाचारीहरू क्रमशः घट्दै जाने छन् । जनता र सरकार विश्वासको बलियो डोरीले बाँधिने छन् ।
एक दशकभन्दा केही अगाडि हामीले देखेको नयाँ नेपालको सपनालाई साकार गर्न अब ढिलो भइसकेको छ । अब जनताले चुप लागेर बस्ने दिन पनि गइसकेका छन् । नत्र यो व्यवस्थाको विकल्पमा सक्रिय हुनेहरूले खेल्ने मौका पाउने छन् ।
देशकै नक्सा मिच्दा हामी चुप छौँ । खुल्लम खुल्ला भ्रष्टाचारको तथ्यहरू बाहिरिँदा पनि हामी चुप छौँ । कोरोना महामारीका कारण लाहुरबाट घर फर्कन खोज्दा सरकारले देखाएको व्यवहारप्रति पनि हामी चुप छौँ । लाग्न थालेको छ, हामी मूर्ख जनताले चुनेको सरकार झन् मूर्ख बन्दैछ ।