मंसिर ०७, २०८१, शुक्रबार
               

कोरियाबाट बिदामा आएकाहरूलाई इपीएस शाखामा सम्पर्क गर्न आग्रह

नेपाल फ्ल्यास
बैशाख १६, २०७७

ADVERTISEMENT

काठमाडाैं । सरकारले रोजगार अनुमति प्रणाली (इपीएस) प्रणालीबाट दक्षिण कोरियाबाट बिदामा नेपाल आएका नेपालीलाई वैदेशिक रोजगार विभागमा सम्पर्क गर्न आग्रह गरेको छ । 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै बिदामा नेपालमा रहेका व्यक्तिले काममा चाहेमा विभागअन्तर्गत रहेको इपिएस कोरियामा शाखामा सम्पर्क गर्न आग्रह गरेको हो । 

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले वैद्य प्रवेशाज्ञा भई हाल बिदामा नेपालमा रहेका कामदारलाई स्वास्थ्य परीक्षण गराई उनीहरुकै खर्चमा चार्टर्ड उडानमार्फत जान स्वीकृति दिएको थियो । 

कोरोना महामारीअघि बिदा लिएर नेपाल आएका नेपाली श्रमिक, विद्यार्थी तथा व्यवसायी अन्तर्राष्ट्रिय उडान बन्द हुँदा यही अलपत्र परेका थिए । 

यद्यपि यसबीचमा कोरियाबाट कति नेपाली श्रमिक बिदामा नेपाल आएका छन् भन्ने तथ्यांक आफूहरुसँग नभएको इपिएस कोरिया शाखाले जनाएको छ । 

गैरअवासीय नेपाली संघ (एनआरएनए) को पहलमा त्यस्ता कामदारको संख्या संकलन गर्ने काम भइरहेको छ । करिब २५० कामदार बिदामा नेपाल आएको हुनसक्ने अनुमान गरिएको छ ।

कोरियामा कोभिड–१९ को महामारी बिस्तारै कम हुँदै गएपछि त्यहाँका रोजगारदाताले नेपाली कामदारलाई जतिसक्दो चाँडो फर्कन आग्रह गर्दै आएका छन् ।

विशेषगरी लकडाउन हुनुअघि दक्षिण कोरियाबाट छोटो अवधिको बिदा लिएर नेपाल पुगेका नेपाली श्रमिक समयमै फर्किन नसक्दा भिसा नै रद्द हुने हो कि भन्ने चिन्ता थपिएको थियो । 

आफूले काम गरिरहेको कम्पनीले छिटो फर्कन भनिरहने तर लकडाउनका कारण फर्कन नसक्दा नेपालमा रहेका नेपाली श्रमिक चिन्तित थिए । 

उनीहरुलाई नेपाल एयरलाइन्सको चार्टर्ड विमानमार्फत कोरिया फर्काउने तयारी गरिएको छ । संघ र नेपाल एयरलायन्सबीच सोमबार चार्टर्ड उडानसम्बन्धी सम्झौता भएको छ । पहिलो चरणमा अप्रिल ३० तारिखमा फ्लाइट गर्ने तयारी भइरहेको छ । 

जसमा भिसा सकिन लागेकालाई प्राथमिकता दिई उडाइने छ । दक्षिण कोरिया फर्कनेले टिकटबापत रु एक लाख १३ हजार ७७५ बुधबार अपराह्न दुई बजेभित्र बुझाउन संघले आग्रह गरेको छ । 

कोरिया फर्केपछि अनिवार्यरूपमा १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा बस्नुपर्नेछ ।


कस्तो लाग्यो ?

यो पनि