प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक बाहिरबाट आउनेहरूलाई रोक्न नसक्दा कोरोना भाइरस फैलिएको स्विकारेका छन् । विदेशबाट स्वदेश फर्किनेहरूको चाप र प्रभावका कारण कोरोना भाइरस फैलिएको उनले बताए ।
प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले लकडाउनको पालना नहुँदा भाइरस फैलिएको जिकिर गरे ।
प्रधानमन्त्री ओलीले स्थानीय तहका जनप्रतिनिधि र सीमामा आएर बस्नेहरूका कारण बाहिरबाट आउने क्रम रोक्न नसकिएको बताए ।
यसले गर्दा देश भयावह स्थितितिर गएको र कोरोना कहाँबाट सर्यो भन्ने नै पत्ता लगाउन गाह्रो हुने बताए । बाहिरबाट अझै आउन सक्ने सम्भावना रहेकाले वडा स्तरमा क्वारेनटाइन बनाउने काम अघि बढाएको प्रधानमन्त्रीले बताए ।
विश्वमा लकडाउनको पालना गर्ने देशमा कोरोना भाइरस नियन्त्रण भएको र लकडाउन नमान्ने देशहरूमा बढी फैलिएको पनि उनले बताए ।