काठमाडौं । बाँकेको नरैनापुर गाउँपालिकामा आइतबार राति आठ बजेबाट लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ ।
पछिल्लो समय कोरोना भाइरसको संक्रमण धेरै देखिएपछि आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले पूरै गाउँपालिकामा सेना परिचालन गरी निषेधाज्ञा जारी गरिएको हो ।
नरैनापुर गाउँपालिकामा कोरोना भाइरसको संक्रमण अधिक देखिएकाले यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।
नरैनापुरमा मात्र एक सय १४ जना कोरोना संक्रमित पहिचान भएका छन् भने एक जनाको मृत्यु भइसकेको छ ।
सो गाउँपालिकाको ५ नम्बर वडामा मात्र ६२ जना संक्रमित पहिचान भएका छन् ।
दैनिक संक्रमित संख्या बढेको भन्दै गाउँपालिकाले संक्रमण आफ्नो नियन्त्रणभन्दा बाहिर गएको भन्दै प्रदेश र केन्द्र सरकारसँग गुहार मागेपछि सो गाउँपालिका सिल गरिएको हो ।