काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरुको राय सुझावअनुसार कुल जनसंख्याको कम्तीमा दुई प्रतिशतको कोरोना भाइरसको परीक्षण गर्ने बताएका छन् ।
सोमबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
साथै, उनले एक मात्र प्रयोगशालाबाट सुरु भएको परीक्षण अब सातै प्रदेशका २० भन्दा बढी प्रयोगशाला स्थापना गरी विस्तार भएको बताए ।
उनले क्वारेन्टाइनको संख्या र गुणस्तर विकास गर्ने बताउँदै बन्द भएका होटल र खाली सार्वजनिक संरचनालाई क्वारेन्टाइनका रुपमा विस्तार गर्ने बताए ।
‘महामारीविरुद्धको लडाइ सुरुमा अलमल जस्तो भए पनि अहिले सही दिशामा रहेको र दक्षिण एशियामा नेपालको अवस्था सन्तोषजनक रहेको छ,’ उनले भने, विदेशमा रहेका नागरिकप्रति सरकार संवेदनशील रहेको छ ।’
ओलीले छिमेकी भारतबाट आउनेहरुमा परीक्षणको अभावमा महामारी तीव्र गतिमा बढेको बताए ।
साथै, उनले परीक्षणमा आउन उनीहरुलाई आग्रह समेत गरेका छन् ।