काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले नेपाल र भारत दुवैतर्फका बस्ती हटाउन आवश्यक रहेको बताएकी छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिका निर्णय सुनाउँदै शुक्रबार उनले यस्तो बताएकी हुन् ।
‘नेपालले मात्रै हटाउने भनेको होइन भारततर्फका बस्ती पनि हटाउन आवश्यक छ,’ उनले भनिन्, ‘यसका लागि सरकारले आवश्यक समन्वय गर्नेछ ।’
‘सीमा क्षेत्रमा भारतले स्तम्भ नबनाए सरकार आफैँ बनाउनुपर्छ,’ उनले भनिन् ।
सो समितिले सरकारलाई भारतीय सीमा क्षेत्रको दशगजा क्षेत्र खाली गर्न पनि निर्देशन दिएको छ ।
सीमा क्षेत्रमा भारत सरकारले निर्माण गरेका सडक र तटबन्धबारे छलफल गर्न बसेको समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो ।
समितिले अन्तर्राष्ट्रिय मूल्य मान्यताविपरीत सीमा क्षेत्रको रहेका बस्ती, सडक, बाँध तटबन्ध तत्काल हटाउन आवश्यक रहेको बताएको छ ।
साथै, बैठकले त्यस क्षेत्रमा रहेका भौतिक संरचना र मानवबस्ती पनि हटाउन सरकारलाई निर्देशन दिएको छ ।