काठमाडौं । कांग्रेसका सांसद संविधान संशाेधन विधेयक दर्ताका लागि संसद सचिवालय पुगेका छन् ।
कांग्रेस केन्द्रीय समिति बैठकले तराई–मधेशका जनताका माग पूरा नभएकाले पुनः संविधान संशोधन प्रस्ताव दर्ता गर्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेसँगै मधेसकेन्द्रित सांसदहरु संविधान संशोधनको प्रस्ताव दर्ताका लागि संसद सचिवालय गएका हुन् ।
संविधान संशोधन विधेयक संसदमा दर्ताका लागि कांग्रेसका तराई–मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरू अमरेशकुमार सिंह, उमाकान्त चौधरीलगायत संसद् सचिवालय पुगेका छन् ।
उनीहरु गैरसरकारी विधेयकका रूपमा प्रस्ताव दर्ता गर्न मंगलबार दिउँसो संघीय संसद सचिवालय पुगेका हुन् ।
०७४ भदौ ५ मा फेल भएको संविधान संशोधन प्रस्ताव पुनः ब्युँताएर दर्ता गर्न लागिएको उनीहरुले बताए ।