काठमाडाैं । नेपालका सबै नागरिकलाई सैनिक तालिम दिनुपर्ने, राष्ट्रिपति कार्यकारी प्रमुख हुनुपर्नेजस्ता माग राख्दै संविधान संशोधनका लागि विधेयक दर्ता भएको छ ।
संविधान संशोधनको माग गर्दै संसदमा धमाधम गैरसरकारी विधेयक दर्ता भइरहेका बेला शुक्रबार सांसद प्रेम सुवालले यस्ता माग राखी संविधान संशोधन विधेयक दर्ता गराएका हुन् ।
योसँगै संविधान संशोधनका लागि संसदमा संविधान संशोधन विधेयकको संख्या पाँच पुगेको छ ।
सरकारले विगतमा छुटेको भूमि समाहित गरी नेपालको नक्सा गरी त्यसलाई औपचारिकता दिन संसदमा सरकारी विधेयक दर्ता गरेपछि थप चारवटा गैरसरकारी विधेयक दर्ता भएका हुन् ।
यसअघि राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीको तर्फबाट संयुक्त रुपमा र नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चाले संविधान संशोधन दर्ताका लागि संविधान संशोधन दर्ता विधेयक दर्ता गराएका छन् ।