काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)का बारेमा छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ ।
नेकपाले एमसीसीका बारेमा छलफल गर्न भोलि (सोमबार) ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
अघिल्लो सचिवालय बैठकले एमसीसीबारे छलफल गर्न छिट्टै अर्को सचिवालय बैठक बोलाउने निर्णय गरेअनुरुप भोलि बैठक बोलाइएको प्रवक्ता श्रेष्ठले बताए ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली एमसीसी सम्झौता संसदबाट तत्काल पास गर्नुपर्ने पक्षमा छन् ।
बैठकमा वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको एमसीसी अध्ययन कार्यदलले पेस गरेको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।