काठमाडौं । भारतबाट ४१ हजारभन्दा बढी नागरिक कर्णाली फर्किएका कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायले जानकारी दिए ।
कोरोनाको महामारीका कारण रोजगारीको सिलसिलामा भारत गएका कर्णालीका ४१ हजारभन्दा बढी नागरिक स्वदेश फर्केकाे जानकारी उनले दिएका हुन् ।
उनले भने, ‘वैशाखमा चार हजार मानिस कर्णाली फर्केकामा जेठ महिनामा त्यसको १९ गुणाले बढेको छ ।’
उनले भारतबाट कर्णाली फर्कनेमा सबैभन्दा बढी दैलेख जिल्लाका नागरिक रहेको बताए ।
उनले भने, ‘कर्णाली फर्कनेमा क्रमशः दैलेखका करिब १४ हजार, सुर्खेतका ११ हजार २४२, कालीकोटका पाँच हजार, जाजरकोटका तीन हजार ५२१, सल्यानका तीन हजार ५१८, रुकुमपश्चिमका एक हजार ४४७, मुगुका एक हजार ३५०, जुम्लाका एक हजार २५७ र हुम्लाका २७५ नागरिक कर्णाली प्रवेश गरेका छन् ।’
तर, उनले डोल्पा जिल्लामा भने भारतबाट आउनेको संख्या शून्य रहेको बताए ।
भारतबाट आएका ४१ हजार नागरिकमा अहिले तीन हजार ९३ महिला र २७ हजार पुरुष गरी करिब ३० हजारको हाराहारीमा क्वारेन्टिनमा रहेको छन् ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले ७०७ पुरुष र ५६ महिला गरी ७६३ कोरोना सङ्क्रमितमध्ये ७३१ आइसोलेसनमा रहेको बताए ।
उनले भने, ‘६० जना कोरोना जितेर घर फर्किसकेका छन् ।’
आन्तरिक मामिला तथा कानून मन्त्रालयल ले कर्णाली फर्कनेको संख्या अहिले घटेर दैनिक एक हजारमा झरेको बताएको छ ।
मन्त्रालयले कर्णाली प्रदेश सरकारले अनुमान गरेभन्दा शतप्रतिशत बढी नागरिक भित्रिएकाले व्यवस्थापनमा समस्या भएको बताएको छ ।