काठमाडौं ।नेपालले लिम्पियाधुरासहितको नक्सा पारित भएसँगै भारतले नेपालको निर्णय स्वीकार्य नहुने प्रतिक्रिया दिएको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै नेपालको निर्णय ऐतिहासिक तथ्य वा प्रमाणमा आधारित नरहेको दाबी गरेका छन् ।
‘नेपालको प्रतिनिधिसभाले भारतीय भूभाग समावेश हुनेगरी नेपालको नक्सा परिवर्तन गर्दै संविधान संशोधन विधेयक पारित गरेको हामीलाई जानकारीमा आएको छ । यसबारे हामीले आफ्नो अडान पहिल्यै प्रस्ट पारिसकेका छौं । कृतिम विस्तारको यो दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित र स्वीकार्य छैन । यसले विद्यमान सीमा समस्याबारे वार्ता गर्ने हाम्रो वर्तमान बुझाईलाई पनि उल्लंघन गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।