मंसिर ०७, २०८१, शुक्रबार
               

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे आज निर्णायक छलफल हुने

नेपाल फ्ल्यास
असार १०, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक सुरु भएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र सरकारको कामकारबाहीबारे सघन छलफल हुने बताइएको छ ।

एमसीसीलाई लिएर नेकपाभित्रै विवाद रहेको छ । यही असार १६ गते भित्र एमसीसी पारित गर्नुपर्ने समय सीमा रहेको र अब असार १७ गते मात्रै संसद् बैठक बस्ने परिवेशका बीच हुन लागेको नेकपाको स्थायी समिति बैठकलाई महत्त्वका साथ लिइएको छ ।

गएको वैशाख २५ गतेका लागि तय भएको स्थायी समिति बैठक अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम समयमा स्थगित गरेका थिए ।

मंगलबारको बैठकमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधव नेपाल खेमामा ओली पक्षविरुद्ध कडा रुपमा प्रस्तुत हुने तयारीमा छन् ।

प्रचण्ड र नेपाल पक्षले सरकारको काम प्रभावकारी नभएको, जनताको अपेक्षाअनुसार काम गर्न नसकेको, कार्यकर्तामा निराशा बढेको सहितका विषय बैठकमा उठाउने तयारी गरेको नेपाल पक्षका एक स्थायी कमिटी सदस्यले बताए ।

यस्तै, बैठकमा पार्टी नियन्त्रणबाहिर गएर सरकार सञ्चालन गरेको विषय पनि उठाइने उनले बताए ।

यस्तै, बैठकमा एमसीसीमाथि विस्तारित छलफल हुने जनाइएको छ । यो बैठकले एमसीसी पारित गर्ने–नगर्ने या तत्कालका लागि थाती राख्ने सम्बन्धमा महत्त्वपूर्ण छलफल गरी निर्णय लिने सम्भावना रहेको छ ।

नेकपाले एमसीसीबारे अध्ययन गरी परामर्श दिन गठन गरेको कार्यदलले अहिलेकै अवस्थामा पारित गर्न नहुने सुझाब दिएको थियो । नेता झलनाथ खनालसहितको कार्यदलको सुझाब तथा पार्टीका नेताहरुको यसबारेको धारणामा पनि छलफल हुनेछ ।

एमसीसीका सम्बन्धमा नेकपाको यो बैठक निर्णायक बैठक हो ।


कस्तो लाग्यो ?

यो पनि