काठमाडाैं । सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठकमा ‘भाइरस ब्लकर डिसइन्फेक्सन कार्ड’ बाँडिएको छ ।
चीनमा बनेको सो भाइरस ब्लकर डिसइन्फेक्सन कार्ड नेकपाका वरिष्ठ नेता माधव नेपालले बैठकमा उपस्थितलाई बाँडेका हुन् ।
सो बुटी (जन्तर) नेकपाका अर्का अध्यक्षले हातमा लिएका थिए भने नेता नेपाल आफैंले पनि घाँटीमा भिरेका थिए ।
त्यस्तै, पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, ईश्वर पोखरेल लगायतले पनि सो बुटी लगाएका थिए ।
यस कार्डलाई सहभागी कतिपयले कोरोना जन्तर (धामीले लगाइदिने बुटी) भन्दै व्यंग्य पनि गरेका छन् ।
त्यसैक्रममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले घाँटीमा भिरेको ‘भाइरस रिमुभिङ कार्ड’ देखाउँदै भने, ‘सानो केटाकेटी हुँदा धामीले भुत–प्रेत लाग्दैन भनेर जन्तर लगाइदिन्थे, अहिले बैठकमा कोरोना जन्तर लगाइदिए ।’
सो बैठकमा केही सहभागीले बेसारजस्तै हो कि काम पनि गर्छ भन्दै सो सो बुटी (जन्तर) बारे ठट्यौली पनि गरेका छन् ।
नेकपा स्थायी कमिटी बैठकमा लगाइएको बुटी भाइरस ब्लकर डिसइन्फेक्सन कार्ड भएको र जसलाई प्रतिगोता ६५० मा किनिएको बताइएको छ ।
सो बुटीले कोरोना भाइरसलाई नष्ट गर्ने र ब्याक्टेरिया, धुवाँ वा प्रदूषण हटाउने बताइएको छ ।