काठमाडौं । नेपाल-भारत सीमा विवाद चलिरहेका बेला सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठकमा भारतसँग जोडिएका सीमामा तारबार लगाउनुपर्ने मत बलियो बन्दै गएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबारदेखि जारी स्थायी कमिटी बैठकमा सो कमिटीका सदस्यहरुले यस्तो बताएका हुन् ।
त्यसैगरी सो बैठकमा सहभागी कतिपयले पूरै नाका सिल गर्नुपर्ने धारणा राखेका छन् ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–भारत सीमा विवाद समाधान गर्न भारत तत्काल सकारात्मक नदेखिएको बताएपछि सीमा नाकामा तारबार लगाउनुपर्ने मत बलियो बन्दै गएको हो ।
यसै क्रममा स्थायी कमिटी देव गुरुङ, लीलामणि पोखरेल, पम्फा भुसाललगायतले तारबार लगाएर सीमा सिल गर्नुपर्ने बताएका छन् ।
त्यसैगरी, पार्टी प्रवक्ता तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले सीमामा नियमन र नियन्त्रण गर्न जोड दिएका छन् ।