काठमाडौं । दुई नम्बर प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले थाल र ड्रम ठटाएर सलह कीरालाई लखेट्न आग्रह गरेका छन् । फट्यांग्रो प्रजातीको उड्ने खालको उक्त सलह किराबाट हुने हानी नोक्सानी नियन्त्रणप्रति सचेत तथा सतर्क रहन भन्दै आफ्ना प्रदेशका सबै किसानहरुलाई आग्रह गरेका हुन् ।
उनले एक विज्ञप्तिमार्फत सलह कीरालाई बालीनाली र रुख विरुवा भएको क्षेत्रबाट लखेटेर अन्य क्षेत्रमा पठाउन सकिए क्षति न्यूनीकरण गर्न सकिने बताएका छन् ।
साथै, मन्त्री साहले कीरालाई धपाउन थाल, ड्रम आदि ठटाउने जस्ता उपायको र विषादी छर्कनसमेत किसानलाई आग्रह गरेका छन् । उनले आफ्नो मन्त्रालयले सरोकारवाला अन्तर्राष्ट्रिय तथा राष्ट्रिय निकाय र विज्ञहरूका सुझावका आधारमा सलह कीरा नियन्त्रणका लागि कार्ययोजना बनाएकोसमेत उनले जानकारी दिए ।
मन्त्री साहले सलह कीरा नेपाल प्रवेश भएको सूचना प्राप्त हुनासाथ कीराको उपस्थिति देखिएको क्षेत्रमा मन्त्रालयका सचिव डा. विमल निर्मलको नेतृत्वमा तेलबाली अनुसन्धान केन्द्र सर्लाहीका प्रमुख विशेश्वर यादव, प्रदेशका कृषि विकास निर्देशनालय र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशकहरू सहितको टोलीले स्थलगत अवलोकन तथा निरीक्षण गरी नियन्त्रणका उपायबारे किसानहरूसँग अन्तक्रिया गरेको जानकारी दिए ।