मंसिर ०७, २०८१, शुक्रबार
               

नेकपामा दुई अध्यक्षबीच ठूलो असमझदारी
प्रचण्डले मागेको राजीनामा प्रस्तावमा खनाल र गौतमको समर्थन

नेपाल फ्ल्यास
असार १६, २०७७

ADVERTISEMENT

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपामा दुई अध्यक्षबीच निकै ठूलो असमझदारी देखिइएको छ  । जुन असमझदारी मंगलबारको स्थायी कमिटी बैठकमा प्रस्ट देखिएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्को अध्यक्ष पुष्पकमल दाहालबीचको पछिल्लो असमझदारी विगतको जस्तो साम्य नहुन पनि सक्ने आँकलन गरिएको छ ।

आइतबार प्रधानमन्त्री ओलीले आफूलाई दिल्लीले हटाउन खोजेको अभिव्यक्ति दिएका थिए । मंगलबारको बैठकमा नेताहरूले सो भनाइको  पुष्टि गर्न माग गर्दै राजीनामा मागेका छन् । ‘दिल्ली र नेपालका केही शक्तिले हटाउने षड्यन्त्र गरेको’ प्रधानमन्त्रीले बताएका थिए । मंगलबार बैठकमा प्रधानमन्त्री ओलीले भनेको कुरा निकै गम्भीर रहेको भन्दै मंगलबारको बैठकमा बोल्ने अधिकांशले त्यसको सत्य तथ्य बताउन माग गरेका स्थायी कमिटी सदस्यहरूले बताए ।

बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिल्लीले भनेको कुरा आफूलाई थाहा नभएको तर पार्टी र सरकार ठिक ढङ्गले सञ्चालन नभएकाले आफूले नै प्रधानमन्त्रीको राजीनामा मागेको बताए । उनले दुई तिहाइको सरकार हुँदा पनि नागरिकले परिवर्तन अनुभूति गर्न नपाएको र पार्टीमा पनि ‘ओली दम्भ’ देखिएकोले अब राजीनामा नै उत्तम विकल्प भएको बताए । उनको राजीनामा प्रस्तावमा उपाध्यक्ष बामदेव गौतम र  वरिष्ठ नेता झलनाथ खनालले पनि समर्थन जनाएका छन् ।

यस्तै नेता खनाल र गौतमले पनि प्रधानमन्त्रीले सार्वजनिक रूपमै दिल्लीले आफूलाई हटाउन खोज्यो भन्नु सामान्य कुरा नभएकाले यसको जवाफ दिन माग गरेका बैठकमा सहभागी नेताहरूले बताए ।

‘प्रचण्डजी ले त सिधै प्रधानमन्त्रीको राजीनामा नै माग्नुभयो, झलनाथ र वामदेव कमरेडले दिल्लीको विषयमा प्रधानमन्त्रीले बोलेको कुराको सत्य तथ्य माग गर्नुभएको छ, उहाँहरूले पनि ओलीले ठिक तरिकाले पार्टी र सरकार नचलाएकाले छाड्दिँदा नै ठिक हुने कुरा राख्नुभएको छ’, एक स्थायी कमिटी सदस्यले नेपाल फ्ल्याससँग भने ।

मंगलबारको बैठकमा बोल्ने १८ जना स्थायी कमिटी सदस्यले ओलीले पार्टी र सरकारको नेतृत्व गर्ने नैतिकता गुमाएको टिप्पणी गर्दै यस्तो दबाब दिएका छन् । 


कस्तो लाग्यो ?

यो पनि