नेपाल कम्युनिस्ट पार्टी विभाजनको संघारमा पुगेको बेलामा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले राष्ट्रपतिविरुद्ध षड्यन्त्र गरेको आरोप लागिरहेका बेला नेताहरू राष्ट्रपतिलाई भेट्न गएका छन् । अध्यक्ष प्रचण्डसहितका तीन शीर्ष नेता राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् ।
प्रधानमन्त्रीले शनिबार साँझ राष्ट्रपतिसँग भेट गरेपछि मन्त्रिपरिषद् सदस्यहरूसँग परामर्श गरेका थिए । त्यसक्रममा उनले राष्ट्रपतिविरुद्ध समेत खुमलटारमा प्रचण्ड पक्षधर नेताहरूले षडयन्त्र गरेको आशय व्यक्त गर्दै जुनसुकै कदम चाल्नुपर्ने बताएका थिए ।
प्रचण्डसँगै पूर्व प्रधानमन्त्रीहरू झलनाथ खनाल र माधव नेपाल शीतल निवास आएका शीतल निवास स्रोतले जनाएको छ । प्रधानमन्त्रीलाई सम्झाउनका लागि पनि तीन नेताले राष्ट्रपतिमार्फत आग्रह गर्ने सम्भावना रहेको प्रचण्ड निकट एक नेताले जानकारी दिए ।
राष्ट्रपतिलाई भेट्न गएका नेताहरूले प्रधानमन्त्री केपी ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हट्न अडान लिएका छन् । यता प्रधानमन्त्री ओलीले दुवै पद नछाड्ने अडान लिएका छन् । यो विवादले पार्टी फुट्ने र राष्ट्रपतिलाई समेत विवादमा पार्ने देखिएको छ । यस कारण राष्ट्रपतिले ओलीमाथि राजीनामा गर्न दबाब बढाउन् भन्ने चाहना राखेर नेताहरू शीतल निवास गएका नेताहरू बताउँछन् ।