प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको निणार्यक भनिएको छलफल विना निस्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो भएको छलफलमा कुनै सहमति जुट्न सकेन । आफूनिकट नेताहरूसहित छलफलमा बसेका ओली र दाहालले सोमबार पुन: छलफल गर्दै सहमति खोज्ने सहमति गरेका छन् ।
सोमबार स्थायी कमिटी बैठक बोलाइएको छ । बैठकअघि दुवैजना अध्यक्ष बस्ने निर्णय गरेको नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले बताए । ‘दुवै नेताबीच विवादित विषयमा छलफल भएको छ, तर कुनै निर्णय भने ननिस्किएको छैन, भोलि पुन: छलफल गरी सहमति खोज्ने प्रयास हुनेछ’ उनले भने ।
आइतबारको बैठकमा दुवै अध्यक्षबीच सबै विकल्प र सम्भावनाबारे छलफल गर्न सहमति भएको बताइएको छ । छलफलमा सहभागी अर्का एक नेताका अनुसार दुवैबीच राष्ट्रपतिलाई महाभियोग लगाउन षड्यन्त्र भइरहेको भनेर प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबारे पनि छलफल भएको थियो । राष्ट्रपतिलाई महाभियोग लगाउने भन्नेबारे पनि छलफल भएको छ ।
पार्टीभित्रको मतभेदमा राष्ट्रपतिलाई मुछ्न नहुनेबारे अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीलाई सुझाब दिएका थिए । बालुवाटारमा भएको छलफलमा दुई अध्यक्षसंगै ईश्वर पोखरेल, विष्णु पौडेल, वर्षमान पुन, शंकर पोख्रेल, जनार्दन शर्मा सहभागी थिए ।