काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादले विभाजन उन्मुख देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको साथ मागेका छन् । सत्ता बचाउनका लागी ओलिले काँग्रेसलाई साथ दिन प्रस्ताव गरेका छन् । असार १७ गते आफैले र आइतबार आफ्नो निकटस्थ नेतामार्फत देउवासँग भेट गरेर काँग्रेसको साथ मागेका हुन् । १७ गते ओली आफैले देउवासँग छलफल गरेका थिए । आइतबार ओली अर्को अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफलमा रहँदा सुवास नेम्वाङ काँग्रेसका नेताहरूसँग छलफलमा थिए ।
ओलीले अध्यादेश ल्याएर पार्टी फुटाउने चर्चा चलिरहेका बेलामा कांग्रेससँगको सत्तासहकार्यको छलफलले त्यसलाई पुष्टि गरेको छ।
सोमबार सुरु काँग्रेस केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाले ओलीसँगको छलफल भएको कुरा सुनाए । देउवाको ब्रिफिङसँगै पार्टीभित्र ओलीको राजीनामाको माग बढिरहेका बेला ओलीले काँग्रेससँग छलफल अघि बढाएको खुलेको हो ।
आफूसँग ओलीले पार्टीभित्र समस्या रहेको भन्दै यो अवस्थामा आफूलाई सघाउन आग्रह गरेको देउवाले बताए । ‘बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले ओलीसँगको भेट र सत्ता सहकार्यबारे समाचारहरूमा आएको विषयबारे प्रश्न गरेपछि देउवाले ओलीसँग भएको भेटबारे ब्रिफिङ गर्नुभयो’ देउवाको ब्रिफिङ उदृत गर्दै एक केन्द्रीय सदस्यले नेपाल फ्ल्याससँग भने ‘तर, गणतन्त्रलाई नै खतरामा पार्ने गरी जानुभयो भने त्यो स्वीकार्य हुँदैन भनेर मैले स्पष्ट भनेको छु, त्यसबाहेक केही भनेको छैन ।’
आइतबारै काँग्रेस संसदीय दलको कार्यालयमा नेकपा नेता सुवासचन्द्र नेम्वाङसँग आफ्नो छलफल भएको देउवाले बताए । ‘नेम्वाङ जी ले पार्टीभित्र समस्या देखिएकाले सहयोग मागेको जानकारी गराउनुभयो,’ देउवाको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने । सत्ता सहकार्य भएका एमसीसी, नागरिकता विधेयकलगायतको विषयमा दुवै दल मिलेर छलफल गर्ने कुरा भएको पनि देउवाले बताए ।