मंसिर ०७, २०८१, शुक्रबार
               

ओली–प्रचण्डको ‘वान टु वान’ वार्ता सकियो

नेपाल फ्ल्यास
असार २२, २०७७

ADVERTISEMENT

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार वार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच एक घण्टा बढी भएको छलफलपछि भएको हो । 
छलफलपछि अध्यक्ष प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन् । दुई अध्यक्षको छलफलमा कुनै निकास ननिस्किएपछि आजको स्थायी कमिटी बैठक स्थगित गरिएको छ । वार्तामा के कुरा भयो भन्ने बारेमा अहिलेसम्म खुलाइएको छैन । 
सहमतिको प्रयत्न गर्ने भन्दै बुधबारसम्मलाई बैठक स्थगित गरिएको छ । केही दिन अघिबाट नेकपा पार्टीभित्रै राजनीतिक विवाद चुलिएर सतहमा पुगेपछि नेकपाको स्थायी कमिटी बैठक सरिरहेको छ ।

यसबीचमा दुईपटक अन्य सहयोगी नेताहरुसहित वार्ता गरेका ओली र प्रचण्ड सोमबार भने एक्लाएक्लै संवादमा थिए । प्रधानमन्त्री ओलीलाई नेकपाबाटै पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाड्नुपर्ने दबाब परेको छ । 

ओलीले आफू प्रधानमन्त्री र अध्यक्ष दुवै पद नछाड्ने अडान दोहोर्‍याएका छन् । प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने अडान राख्दै आएको छ । दुई अध्यक्षबीच समझदारी नभई स्थायी कमिटी बैठक नराख्न मध्यमार्गी नेताहरुले पनि दबाब दिइरहेका छन् ।
 


कस्तो लाग्यो ?

यो पनि