काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीमा भएको विवाद आपसी छलफलबाट सुल्झाउने जनाएका छन् ।
प्रधानमन्त्री ओलीले त्यसका लागि धैर्यता र संयम राख्न आह्वान गरेका छन् । उनले शुक्रबार बेलुका देशवासीका नाममा सम्बोधन गर्दै सो आह्वान गरेका हुन्-‘अहिले कतिपय राजनीतिक विषय र सन्दर्भहरुप्रति जनताको ध्यान अवश्य तानिएको हुनुपर्दछ। त्यस किसिमको चासो र जिज्ञासा हुनु स्वभाविकै हो ।’
जुनसुकै राजनीतिक दलभित्र हुने बहस र विवाद आन्तरिक हुने भन्दै त्यसलाई निष्कर्षमा पुर्याउने दायित्व सम्बन्धित राजनीतिक दल र नेताहरुकै भएको उनले बताएका छन्-‘पार्टीभित्र हुने यस्ता छलफल, बहस र विमतिहरु तिनका नितान्त आन्तरिक र कतिपय अवस्थामा नियमित प्रक्रिया पनि हुन् । यस्ता विषयहरू सम्बन्धित दल र तिनका नेताहरूले आपसी छलफलबाटै सुल्झाउने छन् । यसका लागि धैर्यता र संयम आवश्यक हुन्छ ।’