काठमाडौं । नेकपा अध्यक्षद्वयबीच भएको छलफल पुन: विनानिष्कर्ष टुंगिएको छ ।
बालुवाटार स्रोतका अनुसार ओली पक्ष स्थायी कमिटी बैठक राख्न तयार नभएको र दाहाल पक्षले स्थायी कमिटी बैठकबाटै समाधान खोज्नुपर्नेमा जोड दिएका कारण सो बैठक विनानिष्कर्ष टुंगिएको हो ।
छलफलमा दुई अध्यक्षसहित वरिष्ठ नेता झलनाथ खनाल र सुवास नेम्वाङ सहभागी भएका थिए ।
मंगलबार बालुवाटारमा करिब सवा घण्टा वार्ता तथा छलफल भएको बताइएको छ । तर, सो छलफलमा दुवै पक्षले आ–आफ्नै अडान राखेका कारण छलफल विनानिष्कर्ष टुंगिएको बालुवाटार स्रोतले बतायो ।
सो छलफलमा सरकारले लगानी बोर्डमा सुशील भट्टलाई नियुक्ति गरेकोमा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालले आपत्ति जनाएका पनि बताइएको छ । उनीहरुले विवादित व्यक्तिलाई नियुक्ति गरेको भन्दै आपत्ति जनाइएको बताइएको छ । जसका कारण छलफलमा केहीबेर चर्काचर्की भएको पनि सो स्रोतले जानकारी दियो ।