काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले सिन्धुपाल्चोक जिल्लाका पहिरोबाट पीडित परिवारलाई उद्धार र राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।
राप्रपा अध्यक्ष राणाले एक सन्देशमा भने- ‘अविरल वर्षापछि आएको पहिरोको कारण आज शुक्रबार बिहान सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वडा नं २ लीदीमा ठूलो जनधनको क्षति भएकोमा म अत्यन्त दुखित छु । दुःखको यस घडीमा पहिरोमा परी मृत्यु हुनेहरूको मृत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्घार तथा राहतको लागि सम्बन्धित सम्पूर्णमा हार्दिक आह्वान गर्दछु,’ उनले भने ।
यसैगरी राप्रपा सिन्धुपाल्चोकले पनि शुक्रबार एक विज्ञप्ति जारी गर्दै मृतक र घाइते परिवारको उद्धार गर्न र राहत उपलब्ध गराउन माग गरेको छ ।