काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउन प्रस्ताव गरेका छन् ।
शुक्रबार आफ्नो निवासमा भएको तीन दलको बैठकका क्रममा सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र र जसपाका नेतासँग सो प्रस्ताव गरेका हुन् ।
बुढानीलकण्ठ सो बैठकमा सहभागी भएका एक नेताका अनुसार सो प्रस्तावमा नेकपा माओवादी सहमत भए पनि जसपा असहमति बनेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली सर्वसत्तावादी बाटोमा अगाडि बढेको भन्दै उनले भने, ‘यस्तो सरकारको नेतृत्वमा लोकतान्त्रिक चुनाव हुन सक्दैन । त्यसेले नयाँ सरकार बनाउन चाहेका छौं । त्यसबारे तपाईंहरुको धारणा के छ ?’
सोको जवाफमा जसपा नेताहरुले नयाँ सरकारको औपचारिक प्रस्ताव आएकाले पार्टीमा छलफल गर्ने बताए भने माओवादी केन्द्रले भने वर्तमान सरकारको विकल्प खोज्ने देउवाको प्रस्तावमा सहमति जनाएको छ ।
बैठक सकिएसँगै माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा सकारात्मक छलफल भएको बताउँदै पुन: तीन दलको बैठक बस्ने गरी समापन भएको जानकारी दिए । कांग्रेस सभापति शेरबहादुर देउवाद्वारा आह्वान गरिएको सो बैठक करिब ४५ मिनेट बसेको थियो ।