नेकपा एमालेको माधव कुमार नेपाल पक्षका दुई संसद बैठकको बीचमै बाहिरिएका छन् । बैठकमा राजीनामाको विषयमा छलफल र सोहीअनुसार निर्णय हुने भएपछि दुई सांसद असन्तुष्टि जनाउँदै बैठक बीचमै हिँडेका हुन् । ती सांसदमा पार्वतीकुमारी विशुन्खे र समिना खातुन रहेका छन् ।
बैठकबाट बाहिरिने क्रममा उनीहरुले बैठकले सांसदबाट सामूहिक राजीनामा दिने निर्णय भएको प्रतिक्रिया दिँदै आफूहरुको त्यसमा असन्तुष्टि रहेको बताए ।
खनाल नेपाल समूहले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकता कायम राख्नका लागि भन्दै ६ बुँदे पत्र पठाएर आज बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको थियो । सो अल्टिमेटमबाट माग सम्बोधन नभएपछि खनाल नेपाल समूहका सांसदहरु राजीनामा दिने तयारीमा रहेका छन् ।
यस्तै नेताहरुले पार्टी एकता सकिएको प्रतिक्रिया समेत दिएका छन् ।
खनाल नेपाल पक्षका सांसद झपट रावलले पार्टी एकता सकिएको बताएका छन् । उनले अनेकौं प्रयास गर्दा पनि अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई फुटतिर लगेको उल्लेख गर्दै अब एमाले एकता सकिएको प्रतिक्रिया दिए ।
बिहान साढे नौ बजे बस्ने भनिएको बैठक ढिला गरी सुरु भएको हो । आइतबार पार्टी एकताका लागि भन्दै अध्यक्ष ओलीलाई ६ बुँदे प्रस्ताव पठाएर सोमबार बिहान नौ बजेसम्मको समयसीमा दिएका उनीहरुले यसको बारेमा थप छलफल गर्नको लागि बैठक बस्न लागेका हुन् ।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिनको लागि बोलाएको संसद विशेष अधिवेशन दिउँसो १ बजे बस्दैछ । साढे ९ बजे बस्ने बैठकमा प्रतिनिधिसभाको बैठकअघि माधव झलनाथ पक्षका केही सांसदहरुले राजीनामा दिनेरनदिने विषयमा छलफल हुने स्रोतले जनाएको छ ।