काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दल विभाजनसम्बन्धी अध्यादेश संविधानको मर्म र जनताको आकांक्षा विपरित रहेको बताएका छन् ।
मंगलबार सामाजिक सञ्जाल ट्विटरमा उनले दल विभाजनसम्बन्धी अध्यादेश निहित स्वार्थको लागि देशलाई अस्थिर तुल्याउने खेल भएको टिप्पणी गरेका छन् ।
'विगतमा यस्तै अध्यादेशलाई अलोकतान्त्रिक भन्दै चर्को विरोध गर्नेहरू आज त्यही बाटोमा किन ?' रावलले प्रश्न गरेका छन् ।
रावलको अर्को प्रश्न छ, '२०५४ सालमा एमाले फुटाउँदा देशमा द्वन्द्व चर्किएको हेक्का नरहेको किन ?'
दल विभाजनसम्बन्धी अध्यादेश संविधानको मर्म र जनताको आकांक्षा विपरीत निहित स्वार्थको लागि देशलाई अस्थिर तुल्याउने खेल हो।विगतमा यस्तै अध्यादेशलाई अलोकतान्त्रिक भन्दै चर्को विरोध गर्नेहरू आज त्यही बाटोमा किन? २०५४ सालमा एमाले फुटाउदा देशमा द्वन्द्व चर्किएको हेक्का नरहेको किन?
— Dr. Bhim Rawal (@BhimRawal179) August 17, 2021
यसअघि उपाध्यक्ष रावलले पार्टीमा विगतका विभाजन र एकताका परिणामहरूलाई ठण्डा दिमागले स्मरण गर्नुपर्ने बताएका थिए ।
सामाजिक सञ्जालमा कविता शेयर गर्दै रावलले पार्टी कुनै व्यक्ति विशेषको नहुने भन्दै व्यक्ति विशेषका गल्ती-कमीको आलोचना र विरोध गर्नु पार्टीको विरोध हो भन्ने मार्क्सवाद र कुनै सिद्धान्तले नमान्ने बताएका छन् । उनले पार्टी विभाजनविरूद्ध उभिन आह्वानसमेत गरेका छन् ।
कम्युनिष्ट पार्टीमा विगतका विभाजन र एकताका परिणामहरूलाई ठण्डा दिमागले स्मरण गर्नु विवेकसम्मत हुनेछ।पार्टी कुनै व्यक्ति विशेषको हुँदैन र व्यक्ति विशेषका गल्ती-कमीको आलोचना र विरोध गर्नु पार्टीको विरोध हो भन्ने मार्क्सवाद र कुनै सिद्धान्तले मान्दैन । थप संलग्न कविताबाट: pic.twitter.com/gLr3UdRp2N
— Dr. Bhim Rawal (@BhimRawal179) August 17, 2021
अध्यादेशको सर्वत्र विरोध
शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशपछि सर्वत्र विरोध भइरहेको छ।
मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश ल्याउने निर्णय गर्दै अनुमोदनका लागि राष्ट्रपति कार्यालय पठाएको छ ।
राजनीतिक दलसम्बन्धी ऐनमा रहेको व्यवस्थामा केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत भए मात्रै दल विभाजन गर्न सकिने व्यवस्था छ ।
यो व्यवस्थालाई खुकुलो पार्ने गरी र मन्त्रिपरिषद्ले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्यले दल विभाजन गर्ने व्यवस्था अध्यादेशमा राखिएको एक मन्त्रीले जानकारी दिए ।