नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका माधवकुमार नेपालसहितका नेताहरू चन्द्रागिरि रिसोर्टमा पुगेका छन् । नयाँ पार्टीको केन्द्रीय समितिमा रहेका नेतालाई छलफलका लागि भन्दै रिसोर्टमा बोलाइएको छ ।
नयाँ दल दर्ताको तयारी भइरहेका बेला आफू पक्षका नेताहरू दायाँबायाँ नहुन् भन्ने उद्देश्यले उनीहरूलाई एकान्तवासमा लगिएको हो । साथै माधव नेपाल निकट एक नेताका अनुसार रिसोर्टमा पार्टीको नयाँ नीति ‘जनताको बहुदलीय समाजवाद’ को विषयमा छलफल हुनेछ ।स्रोतकाअनुसार ५२ जनाका लागि ‘बेड बुकिङ’ गरिएको छ । ५२ जना केन्द्रीय सदस्यमध्ये २८ जना सांसद छन् ।
सोमबार र मंगलबार चन्द्रागिरिमै छलफल गर्ने र मंगलबार त्यहाँबाट सिधै निर्वाचन आयोग जाने तयारी रहेकाे बताइएकाे छ । । निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्यहरुको सनाखतका लागि भदौ ९ गते मंगलबार बोलाएको छ ।