पार्टी परित्याग गरेर हिँडेका वामदेव गौतमकी पत्नी तुलसा थापामगर नेकपा एमाले संसदीय दलको बैठकमा उपस्थित भए पनि बैठक सुरु नहुँदै संसद् भवनबाट बाहिरिएकी छिन् । एमालेले बुधबार बिहान ९ बजे संसदीय दलको बैठक बोलाएको थियो । तर अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली समयमा नआएकाले बैठक ढिला सुरु भएको थियो ।
बैठकस्थल संसद् भवनमा ओली आएलगत्तै उनी बाहिरिएकी थिइन् । थापाले पार्टी विभाजनका बेला माधवकुमार नेपाललाई साथ दिन खोजे पनि कानुनी अड्चनका कारण उनी एमालेमै रोकिएकी थिइन् । राष्ट्रिय सभा सदस्यसमेत रहेका उनका श्रीमान् वामदेव गौतमले भने एमालेबाट सबै जिम्मेवारी त्यागिसकेका छन् ।