काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बस्दै छ । आइतबार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादवले एमालेको अवरोधका बाबजुद संसद्लाई कसरी अगाडि बनाउने भन्ने विषयमा बैठकले साझा धारणा बनाउने बताए । मन्त्रिपरिषद् विस्तारमा देखिएको समस्याबारे पनि छलफल हुने उनको भनाइ छ ।
शुक्रबारको बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने कि प्रतिस्थापन विधेयक ल्याउने भन्नेमा छलफल भएको थियो । नेकपा एकीकृत समाजवादीले प्रतिस्थापन विधेयक ल्याउनुपर्नेमा जोड दिएको छ भने जसपाले फिर्ता लिनुपर्ने अडान राखेको छ । बालुवाटार स्रोतका अनुसार अध्यादेश किनारा नलागी सरकारमा सहभागी नहुने नीति अख्तियार गरेपछि तत्काललाई मन्त्रिपरिषद् विस्तार रोकिएको छ ।
यस विषयमा शुक्रबार दिउँसो नेकपा समाजवादी र जसपा निकट कानुनविद्बीच छलफल भएको थियो । उनीहरु पनि एउटा निष्कर्षमा पुग्न नसकेको नेकपा समाजवादीका नेता विरोध खतिवडाले बताए । नेकपा समाजवादी र जसपाले अध्यादेश किनारा नलागी मन्त्रिपरिषद् विस्तार गर्न नहुनेमा जोड दिएपछि प्रधानमन्त्री देउवा सकसमा परेका छन् ।
सरकार बनेको दुई महिना पुग्न एक दिन बाँकी हुँदा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । प्रधानमन्त्री देउवाले चार मन्त्री र एक राज्यमन्त्रीका भारमा सरकार सञ्चालन गरिरहेको अवस्था छ । शुक्रबार देउवाले नेकपा समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवलाई दुई दुई मन्त्रीको भए पनि नाम दिन आग्रह गरेका थिए ।