सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले प्रेस स्वतन्त्रताका नाममा छाडापनलाई बढावा दिन नसकिने बताएका छन् । रौतहट टाइम्सको २२ औं वार्षिकोत्सव तथा अबको राजनीतिक कोर्ष विषयक कार्यक्रममा नेपालले अहिलेको सरकारले प्रेस स्वतन्त्रतालाई खोस्न चाहेको नभइ छाडापनलाई नियन्त्रण गर्न खोजेको बताए ।
लोकतान्त्रिक वातावरणले सञ्चार क्षेत्र धेरै विकशित भएको उल्लेख गर्दै नेता नेपालले अनुमानका भरमा समाचार नलेखी सत्य तथ्यलाई प्राथमिकता दिन आग्रह गरे ।
प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले संविधानमा नै पूर्ण प्रेस स्वतन्त्रता भनेर प्रष्टसँग लेखेको भएपनि पछिल्लो समय बनेका केही कानूनहरुले त्यसलाई असर पारेको बताए ।
नेकपा राष्ट्रियसभा सदस्य रामनारायण विडारीले राष्ट्रियता र राष्ट्रिय अखण्डता बाहेकका विषयमा संविधान संशोधन गर्न सकिने बताए ।
कार्यक्रममा पत्रकार महासंघ नेपालका अध्यक्ष गोविन्द आचार्य लगायतले सरकारले अघि सारेका केही विधेयकहरुले प्रेसलाई नियन्त्रण गर्ने गरी कानून बनाउन खोजिएकोले सच्याउन आग्रह गरे ।
कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सम्मानित गरिएको छ ।