काठमाडौं । धनुषको जानकनन्दी गाउँपालिकामा लकडाउनको उल्लंघन गर्दै विरोध प्रदर्शन भएको छ ।
गाउँपालिकाको वडा नम्बर–३ महुवाले धनी वर्गलाई मात्रै राहत दिएर वास्तविक गरीब, विपन्नलाई नदिएको भन्दै शनिबार विरोध प्रदर्शन भएको हो ।
विपन्नको नाममा सम्पन्नहरूले राहत पाएको भन्दै दर्जनौंको संख्यामा आएका स्थानीयले वडा कार्यालय घेराउ गरी वडा अध्यक्षसहितका जनप्रतिनिधिविरुद्व चर्काे नाराबाजी गरेका छन् ।
प्रदर्शनकारीले वडा कार्यालयले राहत पाउनको सूचीमा गरीबभन्दा धनीहरूको नाम राखेर वितरण गर्न थालेकाले आफूहरू प्रदर्शनमा उत्रिन बाध्य भएको बताएका छन् ।
वडा कार्यालयले दुई सय परिवारलाई शनिबार राहत वितरण गर्ने तयारी भइरहँदा स्थानीयले प्रदर्शन गरेपछि उक्त राहत वितरण स्थगित भएको छ ।