कोभिड–१९ सँग लड्न सरकारले चार चरणको तयारी गरेको छ ।
पहिलो चरण ः पहिलो चरणको योजनाअनुसार अहिले काम गरिरहेको छ । कोभिड–१९ पोजेटिभ देखिएका सबैलाई कोभिड अस्पतालमा ल्याएर निगरानी र उपचार गर्ने काम भइरहेको छ । दुई हजारसम्म संक्रमित भए पहिलो चरणको योजनाअनुसार काम हुने बताइएको छ ।
दोस्रो चरण ः संक्रमित थपिएर धेरै भएमा लक्षण नदेखिएकालाई घरमै आइसोलेसनमा बस्न भन्ने र लक्षण देखिएकालाई मात्र अस्पतालमा ल्याएर निगरानी तथा उपचार गरिनेछ । यसलाई दोस्रो चरण भनिएको छ र २ देखि ५ हजार संक्रमित हुँदासम्म यो योजना अनुसार काम हुन्छ ।
तेस्रो चरण ः तेस्रो चरणमा कोभिड–१९ पोजेटिभ देखिएकामध्ये अस्पताल भर्ना हुनुपर्नेलाई कोभिड–१९ अस्पतालमा भर्ना गरेर उपचार गर्ने र अन्यलाई घरमै क्वारेनटाइनमा राखिने छ । ५ हजारदेखि १० हजार मानिसलाई संक्रमण देखिएको यो तेस्रो चरणको योजना लागू हुनेछ ।
चौथो चरण ः १० हजार भन्दा बढी मानिसमा संक्रमण देखिए चौथो चरणको रणनीतिअनुसार काम हुनेछ । यदि कोभिड–१९ अस्पतालमा भर्ना गरी उपचार गर्न नसक्ने अवस्था आएमा अन्य सबै अस्पतालमा कोभिड–१९ को उपचार गरिने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
यिनै चार चरणको योजनाअनुसार अहिले स्वास्थ्यकर्मीहरुलाई तालिम दिने, सम्भावित संक्रमितहरुको सूची तयार गरी जाँचपड्ताल गर्ने, कोभिड–१९ नियन्त्रण उपकरणहरू तयारी अवस्थामा राख्ने काम गरिरहेको मन्त्रालयको आपतकालीन व्यावस्थापन महाशाखाको प्रमुख डाक्टर गुणराज लोहनी बताउँछन् ।
‘अहिले भाइरसको नेचर परिवर्तन भइरहेको छ, भ्याक्सिन पत्ता नलागेसम्म यसले सताइरहन्छ’ डाक्टर लोहनीले भने, ‘विस्तारै लकडाउन नखुलाए भाइरस भन्दा मानिसहरु भोकले मर्नेछन् । त्यसैले छुट्टै मोडलमा लकडाउन खुलाउन बहस गर्नुपर्छ ।’