काठमाडौं । अन्तरजातीय विवाहको निहुँमा दलित युवाको हत्याबारे बुद्धिजीवी, मानवअधिकारकर्मी, पत्रकार र सामाजिक न्यायका अभियन्ताले उच्चस्तरीय नागरिक छानबिन आयोग गठन गर्न माग गरेका छन् ।
खगेन्द्र सङ्ग्रौला, राजेन्द्र महर्जन, तुलानारायण शाह र विनोदविक्रम केसीलगायत एक सय ३८ लेखक, साहित्यकार र अधिकारकर्मीले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।
‘जाजरकोट भेरी नगरपालिका–४ का नवराज विक र रुकुम चौरजहारी नगरपालिका–८ की मल्ल युवतीबीचको प्रेम सम्बन्धका कारण नवराजसहित तीनजनाको हत्या गरिएको र अन्य तीनजनालाई बेपत्ता पारिएको नरसंहारका घटनाका पीडितलाई न्याय र पीडकलाई हदैसम्मको कारबाही होस्,’ उनीहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पीडित परिवारका साथै मल्ल युवतीको मानसिक र भौतिक सुरक्षाको बारेमा पनि आवश्यक कदम चालियोस् ।’
विवाहका लागि साथीहरु लिएर केटीको घरमा जाँदै गर्दा स्थानीयवासीले कुटपिट गरी हत्या गरेको पीडित परिवारको आरोप छ ।
शनिबार रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोती निवासी सुष्मा मल्लसँग विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि त्यसतर्फ जाँदै गर्दा सो घटना भएको थियो ।
नवराजको शव भेरी नदीमा भेटिएको थियो । नवराजसँगै केटीको घरमा गएका अन्य दुईजनाको शव पनि भेरी नदीमा भेटिएको छ ।
सोही घटनामा अन्य तीनजना बेपत्ता छन् ।
उनीहरुले देशैभरि अन्तरजातीय विवाहका कारण हत्या गरिएका र दबाबका कारण आत्महत्या गर्ने अवस्थामा पुर्याइएका सबै घटनाको छानबिन गर्नका लागि उच्चस्तरीय संसदीय समिति तुरुन्त गठन गर्नसमेत आग्रह गरेका छन् ।
निष्पक्ष रुपमा छानबिन गरी दोषीलाई हदैसम्मको कानुनी कारबाही गर्न माग गर्दै संसद् र सडकमा विभिन्न राजनीतिक दलका नेता, अधिकारकर्मी, दलित नागरिक समाज, सरोकारवाला संघसंस्थाले आवाज उठाउँदै आएका छन् ।