मंसिर ०७, २०८१, शुक्रबार
               

चीनकाे सीमा क्षेत्र मुस्ताङमा एपीएफ पाेस्ट स्थापना

नेपाल फ्ल्यास
जेठ १६, २०७७

ADVERTISEMENT

काठमाडौं । चीनसँग सीमा जोडिएको मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ नेचुङमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना भएको छ । 

गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्ट र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले संयुक्तरूपमा बिहीबार बिओपीको उदटन  गरेका हुन् । 

सो बिओपीमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २० सशस्त्र प्रहरीको टोली खटिने बताइएको छ । 

स्थायी पूर्वाधार तयार नहुँदासम्म सशस्त्र प्रहरीको टोली नेचुङ भन्सार कार्यालयको भवनमा बस्नेछन् । बिओपीको भवन निर्माणका लागि ३३ रोपनी जग्गा व्यवस्थापन गरेर आवश्यक बजेटसमेत विनियोजन भएको छ । 

सो अवसरमा प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बिओपी स्थापना भएपछि कोरला नाका सञ्चालनका लागि सुरक्षाको वातावरण निर्माण हुने बताए । 

कोरला नाकाको दशगजानजिकै नेपालतर्फ भन्सार र क्वारेन्टिन भवन निर्माणका लागि एक हजार रोपनी जग्गाको व्यवस्थापन गरिएको उल्लेख गर्दै उनले यसै आवमा भन्सार कार्यालय पनि बनाउने बताए । 

मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले बिओपी स्थापनासँगै सीमा सुरक्षा, सम्भावित चोरी तस्करी नियन्त्रण, भन्सार गस्ती र विपद् व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले देशको सीमा सुरक्षाका लागि कोरलामा बिओपी स्थापना भएको उल्लेख गर्दै यसले यस क्षेत्रको सुरक्षा र आपराध नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

कोरला नाका जोड्ने १८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक स्तरोन्नतिका लागि २०७३ देखि ११ प्याकेजमा आयोजना सञ्चालन भएको छ । 

सडक विस्तार, कालोपत्र र मोटरेबल पुल निर्माणको काम भइरहेको छ । ११ प्याकेजमध्ये १८ किलोमिटर दूरीको छोसेर–कोरला र जोमसोम–छुसाङ खण्डको सडक स्तरोन्नतिको काम मात्र सकिएको छ  । 

यो पनि