कोरोना संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)ले ‘लकडाउन को नीतिगत व्यवस्था केन्द्रीय तहबाट गर्ने र स्थानीय तहबाट जिम्मेवारी पूर्ण रुपमा कार्यान्वयनमा लैजाने उद्देश्यसहित ६ चरणको योजनाको प्रस्ताव तयार पारेको छ।
लकडाउन खुकुलो बनाउनुपर्ने चर्को दबाब सरकारमाथि परिरहेका बेला सीसीएमसीले तयार पारेको उक्त प्रस्ताव कोभिड-१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिमा पेश भइसकेको छ।
यसलाई थप छलफल गरी समितिले अनुमोदनका लागि मन्त्रीपरिषदमा पेश गर्ने प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय स्रोतले बताएको छ।
सीसीएमसीले तयार पारेको ‘नेपालमा बन्दाबन्दीलाई खुकुलो गर्ने ‘प्रस्तावित स्वरुप’ मा लकडाउन पूर्णरुपमा खुल्ला गर्ने निर्णय १० औँ हप्तापछि समिक्षापछि गरिनेछ।
प्रस्तावित स्वरुपअनुसार प्रत्येक दुई सातामा लकडाउन खुकुलो बनाइने छ।त्यसमा जर्जियाको ६ चरणको लकडाउन खुकुलो बनाउने मोडलको ढाँचा पनि प्रस्तुत गरिएको छ।
पहिलो चरण
प्रस्तावित स्वरुपमा हालको बन्दाबन्दी सकिएपछि अर्थात जेठ ३२ गतेपछि पहिलो चरणमा दुई हप्ता सम्पूर्ण सुरक्षात्मक उपायहरु अपनाई सामाजिक दूरी कायम गरी हालकै अवस्थामा दूध, अन्नबाली, तरकारी/फलफूल, बस्तुभाउलगायत सम्पूर्ण कृषिजन्य उत्पादन कार्य आंशिक खोल्न दिने प्रस्ताव गरिएको छ।
यस्तै दैनिक उपभोग्य सामग्रीका लागि डिपार्टमेन्टल स्टोर/मार्ट, किराना पसल, खाद्य स्टोर, पानी/ग्यास डिपो पनि हालकै अवस्था आंशिक खोल्ने दिने प्रस्ताव छ।
अत्यावश्यक सवारी साधन चलिनै रहने छन्। यो चरणमा विकास निर्माणका कार्य तथा राष्ट्रिय गौरवका आयोजनाहरु आंशिक खोल्न दिने प्रस्ताव गरिएको छ।
यो चरणमा होटल, रेस्टुरेन्ट र बारलाई होम डेलिभरीको अनुमति दिइनेछ। यस्तै सरकारी/निजी फाईनान्स आंशिक खोल्ने, ई–कर्मस पूर्णरुपमा खोल्ने, मर्निङ वाक आंशिक गर्न दिनइने भएको छ।
दोस्रो चरण
प्रस्तावित स्वरुपमा पहिलो चरणको मुल्याङन पछिको दुई साता सुरक्षात्मक उपाय अपनाएर निजी सवारी साधन ठूला शहरहरुमा जोर/बिजोर प्रणालीमा जिल्ला भित्र मात्रै सञ्चालन गर्न पाइने उल्लेख छ।
यस्तै सार्वजनिक सवारी साधन ५० प्रतिशत यात्रु मात्रै बोकेर सञ्चालन गर्न पाइनेछ । यसगरी सम्पूर्ण सुरक्षात्मक उपाय अपनाएर ४० प्रतिशत यात्रुसहित आन्तरिक हवाई उडान भर्न पाइने छ। यस्तै यो चरणमा घरेलु तथा साना उद्योग र अन्य ठूला उद्योग तथा कलकारखाना आंशिक खोल्न पाइने छ।
तेस्रो चरण
दोस्रो चरणको मूल्याङन गरी दुई साता कृषि, दैनिक उपभोग्य बस्तु सामग्रीका लागि सबै पसलहरु पूर्णरुपमा खोल्न दिने प्रस्ताव गरिएको छ।
यो चरणमा दोस्रो चरणमा अपनाईको नियम अनुसार निजी सवारी साधन चलाउन दिइने छ। पुरानै नियमअनुसार घरेलु तथा साना उद्योग पनि पूर्णरुपमा खोल्न दिइने छ।
विकास निर्माणका कार्य तथा राष्ट्रिय गौरवका आयोजनाहरु पनि पूर्णरुपमा खोलिने योजना छ। अन्य ठूला उद्योग तथा कलकारखाना भने आंशिक रुपमा खोलिने छ। यो समयमा विद्यालय, कलेज र विश्वविद्यालय पठनपाठन र भर्ना प्रक्रिया सुरु गरिने छ।यो चरणमा अटो सर्भिसिङ/अटो पार्टर्स/ईलेक्ट्र/आइटी, कम्युटर/मोबाइल मर्मत संभाारको सेवा सञ्चालनका लागि अनुमति दिइने छ।
चौथो चरण
तेस्रो चरणको बन्दाबन्दी मुल्याङक गरी दुई हप्ता थप गर्ने योजना बनाइएको छ। यो चरणमा संक्रमित जिल्ला र संक्रमणरहित जिल्ला छुट्याइने छ।
संक्रमण रहित जिल्लामा शिक्षा क्षेत्र बाहेक अन्य क्षेत्रमा सामाजिक दूरी कायम गरी बन्दाबन्दी हटाइने छ। निजी, सार्वजनिक सवारी र आन्तरिक उडानलाई तेस्रो चरणकै नियम लागू हुनेछ।
यो चरणमा सम्भव भएसम्म अनलाइनमार्फत पाठ्यक्रम अनुसार कक्षा सञ्चालन गर्ने गरी विद्यालय, कलेज र विश्वविद्यालय सञ्चालन गर्ने र भर्ना प्रक्रिया सुरु हुनेछ।
सम्पूर्ण सुरक्षात्मक उपाय अपनाएर, सामाजिक दुरी÷मास्कको प्रयोगसहित सिनेमा/मल/पर्यटकीय क्षेत्र, होटल/रेस्टुरेन्ट/बार र विकास निर्माणका कार्य तथा राष्ट्रिय गौरवका आयोजनाहरु पूर्णरुपमा सञ्चालनमा आउने छन्।
यस्तै जिम, मर्निङ वाक, अन्य सम्पूर्ण खेलकुद, फेन्सी स्टोर, हजाम र ब्युटी पार्लर पूर्णरुपमा खोलिने छ।
पाँचौ चरण
चौथो चरणको बन्दाबन्दी मूल्याङन गरी २ हप्तामा सामाजिक दुरी र सम्पूर्ण सुरक्षात्मक उपाय अपनाएर अन्तर्राष्ट्रिय उडान भर्न अनुमति दिइने छ।
यो समयमा धार्मिक स्थल मन्दिर/गुम्बा/चर्च/मस्जित पूर्णरुपमा खोल्न दिइनेछ। यसै चरणमा ‘लकडाउन टु लुजडाउन’ को रणनीति कार्यान्वयनबारे समग्र समिक्षा हुनेछ ।
छैठो तथा अन्तिम चरण
यस चरणमा विश्व स्वास्थ्य संगठनलगायत अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरुले विश्वभर संक्रमण शून्यको घोषणा गरेपछि सेवाहरु सामान्य अवस्था सरह नै पूर्णरुपमा प्रवाह गरिने प्रस्तावमा उल्लेख गरिएको छ।
लकडाउन खुल्ला गर्दा भयावह स्थिति पनि आउन सक्ने आँकलन
प्रस्तावित स्वरुपमा बन्दाबन्दी खुकुलो गर्दा आइपर्न सक्ने चुनौतिहरुबारे पनि उल्लेख गरिएको छ।
खासगरी सुरक्षा तथा अर्थ क्षेत्रमा हालको तुलनामा बढी चाप पर्न सक्ने, भारतीय सीमामा नेपाली नागकिहरुको चाप बढ्नुको साथै गैरनेपालीहरुको समेत आगमन हुन सक्ने, स्वास्थ्य क्षेत्रमा कामको चाप बढ्न जाने र स्वास्थ्य सामग्रीलगायत जनशक्तिमा कमी हुन जाने चुनौतीको रुपमा आकंलन गरिएको छ।
यस्तै वैदेशिक रोजगारीमा गएकाहरु स्वदेश फर्कनेहरुलाई तत्काल थप क्वारेन्टिनको व्यवस्था र रोजगारीलगायत खाद्य सामग्री आपूर्तिमा असर पर्ने सीसीएमसीको अनुमान छ।