काठमाडौं । डा. गोविन्द केसीले सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
बुधबार गरिएको डिन नियुक्तिको विषयलाई लिएर डा. केसीले सो निर्णय नसच्चाए कडाभन्दा कडा आन्दोलन गर्न सरकारलाई चेतावनी दिएका हुन् ।
वरिष्ठता मिचेर विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा डिन नियुक्त गरेको भन्दै केसीले त्यसको विरोधमा यस्तो बताएका हुन् ।
सरकारले बुधबार प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या शाहालाई डिनमा नियुक्ति गरेको छ ।
त्यसैगरी, सत्तारुढ दलको विद्यार्थी संगठनले पनि दिव्या शाहालाई वरियता मिचेर डिनमा नियुक्त गरेको विरोध गरेको छ ।
उनी वरियाताका हिसाबले ३३ औँ नम्बरमा रहेकी छिन् ।
वरिष्ठताका आधारमा डिनलगायतका पदाधिकारीहरु नियुक्त हुनुपर्नेमा जोड दिँदै बारम्बार आन्दोलन गर्दा पनि प्रकिया मिचेको भन्दै केसीले असन्तुष्टि जनाएका छन् ।
‘यसबाट व्यक्ति विशेषको नियुक्ति हुने वा नहुने भन्दा पनि वरिष्ठताको आधार भत्किने र सरकारलाई आफूखुशसी कार्यकर्ता भर्ती गर्न बाटो खुल्ने अवस्था सिर्जना भएको छ,’ केसीले भने ।
साथै, उनले वरिष्ठता मिचर आईओएमका विभिन्न पद हत्याउन सत्तारुढमा मुसा दौड भइरहेको पनि उनले बताए ।
सबैभन्दा अक्षम र संस्थालाई दोहन गर्न पल्केका कार्यकर्ता अहिले पद पाउन नेता रिझाउन लागि परेको बताउँदै उनले त्यसो हुँदा संस्था फेरि धराशायी हुने निश्चित रहेको बताएका छन् ।
डा. केसीले वरिष्ठताको आधारविना भएका नियुक्ति सच्याउन माग समेत गरेका छन्।