काठमाडौं । नेपालमा शनिबार सलह किरा भित्रिएको छ ।
बाराको निजगढ तथा सिमरा र सर्लाहीको नवलपुरमा सलह देखिएको किरा रूपन्देही, कपिलवस्तु, मकवानपुरका साथै धादिङमा समेत भेटिएको छ ।
यसैबीच, भारतमा सलह किराको ठूलो बथान सक्रिय भएकाले त्यसको गतिविधिमा निगरानी गर्न नेपाल सरकारले संयुक्त राष्ट्र संघ र भारतीय अधिकारीहरुसँग समन्वय गर्ने भएको छ ।
किरा नियन्त्रणबारे कृषि मन्त्रालयमा आइतबार विज्ञहरुसँगको छलफलपछि कृषिमन्त्री घनश्याम भुसालले यो जानकारी दिएका हुन् ।
विज्ञहरुले भारतको राजस्थानबाट सलह किरा अझै ठूलो समूहमा नेपाल आउने सम्भावना देखिएको जानकारी गराएका थिए ।
विज्ञहरुको भनाइ सुनिसकेपछि मन्त्री भुसालले सलहको सो बथान नेपाल आउँछ कि आउँदैन भनेर भारतको कृषि मन्त्रालयका अधिकारीहरु र संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनका अधिकारीहरुसँग समन्वय गरेर ट्र्याकिङ गर्ने बताए ।
हालसम्म नेपालमा देखिएको सलह किराको बथान सानो रहेको र यसले धेरै क्षति नपुर्याएको भन्दै कृषि मन्त्रालयले किसानहरुलाई नआत्तिन आग्रह गरेको छ ।
सलह देखिएको जिल्ला, यसले पुर्याएको क्षति, सलहको सम्भावित यात्रालगायतका विषयमा मन्त्रालयले आइतबार बेलुका पत्रकार सम्मेलन गरेर जानकारी दिने भएको छ ।